सुर्खेत । कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशस्तरीय इनफ अभियानको घोषणा गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज एक कार्यक्रमका बीच मुख्य मन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गर्नुभएको हो ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), किर्डाक नेपाल, सामाजिक सेवा केन्द्र नेपाल र पाँचतारा युवा संरक्षक मञ्चको संयुक्त आयोजनामा अभियानको घोषणा गरिएको हो ।
कर्णालीका भिभिन्न जिल्लामा पाइने रैथाने बाली तथा परिकारको प्रदर्शन गर्दै मुख्यमन्त्री कँडेलले इनफ अभियानको शुभारम्भ गर्नुभएको हो ।
इनफ अभियानको घोषणा कार्यक्रमा वर्ल्डभिजन इन्टरनेशनल नेपालका एडभोकेसी तथा क्यापियन म्यानेजर श्याम अधिकारीले नेपाल सरकारले लिएका नीति तथा योजनालाई पूरा गर्नका लागि इनफ अभियानले सघाउने विश्वास लिइएको बताउनुभयो ।
जुम्ला, जाजरकोट र दैलेख गरी कर्णालीका ४३ वडामा वर्ल्ड विभजनले काम गरिरहेको जानकारी दिँदै उहाँले ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ अभियानको सफल समापनपछि इनफ अभियान सुरुवात गरिएको उल्लेख गर्नुभयो ।
‘यो अभियान सफल गराउनका लागि तीनै तहका सरकारसँग समन्वय भएको छ । कर्णालीमा पनि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अभियान सफल हुने विश्वास लिएका छौँ ।’ एडभोकेसी तथा क्यापियन म्यानेजर अधिकारीले भन्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत रमेश खड्काले पोषणको अवस्थामा सुधार भए पनि बाल मृत्युदर घट्न नसकेको उल्लेख गर्नुभयो ।
पोषण सुधारका लागि करोडौँ खर्च भए पनि प्रभावकारीता किन निस्कन सकेन भन्ने बारेमा गम्भीर समीक्षा हुनुपर्ने उहाँको भनाइ छ ।
उहाँले कृषि विकासका कार्यक्रमहरू सञ्चालनको लागि नीतिगत व्यवस्था तयार हुनु, सरकार र राजनितीक तहबाट अपनत्व ग्रहण गर्नु, अन्तराष्ट्रिय, राष्ट्रिय, प्रादेशिक र स्थानीय तहसम्मका नीति तथा कार्यक्रममा खाद्य सुरक्षा तथा पोषण सुरक्षाको विषयले महत्व पाउनु, कर्णाली प्रदेश रैथाने बालीको भण्डार भएकोले यसको उपयोग र प्रवर्दधनको सम्भावना भएको लगायतका विषय प्रदेशको अवसरको रुपमा रहेको उल्लेख गर्नुभयो ।
प्रदेशका अधिकांश भू-भागहरूमा विषादीरहित खेती गरिने भएकोले स्वास्थ र पोषीलो हुने बताउँदै कर्णाली प्रदेशका रैथाने बालीको ब्राण्डीङ (मुल्यवान लोगोको प्रयोग) गरी गरिबीको न्यूनिकरण गर्न सकिने सम्भावना रहेकोमा पनि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सचिव गोविन्द शाहीले कुपोषण अन्त्यका लागि सबै सरकारी तथा गैरसरकारी निकाय एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रियस्तरमा पनि कुपोषणको अवस्था डरालाग्दो देखिँदै गएको भन्दै उहाँले कर्णाली प्रदेशमा घोयाणा गरिएको इनफ अभियान सफल बनाउनका लागि गैरसरकारी निकायबाट सतप्रतिशत साथ रहने प्रतिबद्धता जनाउनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१, ११:११