काठमाडौँ । पछिल्लो समय जारमा बेचिने खाने पानीमा समेत हैजा फैलाउने जीवाणु भेटिन थालेको छ । काठमाडौँ महानगरपालिकाले गरेको अनुगमनमा अक्वा त्रिदेव ब्राण्डबाट उत्पादित जारको पानीमा हैजा फैलाउने जीवाणु कोलिफर्म भेटिएको हो ।
जारको पानीमा कोलिफर्म भेटिएपछि अक्वा त्रिदेव ब्रान्डको पानी उत्पादन गर्ने कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
वर्षा याममा पानीका मुहानमा दिशा लगायत फोहोर मिसिने र यसले कोलिफर्म मानिसको खानासम्म पुग्न गई हैजा हुने गरेको छ ।
अहिले नेपालमा दूषित पानीको प्रयोगका कारण ५ जिल्लाका ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भइसकेको छ । हैजा मुख्य गरी दूषित पानीबाट सर्ने भएकाले पानी उमालेर मात्र खान डाक्टरले सुझाव दिँदै आएका छन् ।
उद्योग विभागले केही दिन अघि सार्वजनिक गरेको दण्ड र जरिवाना गरिएका उद्योगको सङ्ख्यामा सबैभन्दा धेरै खानेपानी उद्योगहरू नै रहेका छन् । यसले नेपालमा सिलबन्दी गरिएका खानेपानी नै कति सुरक्षित छन् ? भन्ने प्रश्न पनि उठेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले भने नियमित अनुगमनलाई निरन्तरता दिने र अन्य सरोकारवालाहरूसँग पनि मिलेर अनुगमन गरिने सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१, १३:४६