सोलुखुम्बुको थामे खोलामा आएको बाढीले जनजीवन प्रभावित पारेको छ । बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा नम्बर ५ मा पर्ने थामे गाउँ मा शुक्रबार दिउँसो अचानक आएको बाढीले थामे गाउँ नै प्रभावित बनाएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो ।
अहिलेसम्म ३ वटा घर बगाएको, एउटा छात्राबास बगाउन लागेको र केही घर जोखिममा परेको प्रारम्भिक जानकारी आएको र विवरण संकलन गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
केही दिन देखि पानी परिरहेको भए पनि यति ठुलो बाढी आउने गरीको पानी नपरेकाले हिमताल फुटेको हुन सक्ने अनुमान गरिएको तर एकिन नभएको वडाअध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१, १६:०४