काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ मा पर्ने थामे खोलामा शुक्रवार दिउँसो आएको बाढीले २० वटा घर र होटेल सहितका संरचनामा क्षति पुर्याएको छ । विद्यालय र होस्टेलका तीन वटा भवन, एउटा क्लिनिक र एउटा जलविद्युतको बाँध पनि बाढीले बगाएको छ ।
बाढीमा परि थामेका ५५ वर्षीय निमा नोरु तेण्डु शेर्पा सम्पर्क विहीन रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले सीआईएनसँग बताउनुभयो । अहिले पर्यटकीय याम नभएकाले थामेमा थोरै मात्र मानिस रहेको र सबैलाई उद्धार गरिएको उहाँले बताउनुभयो ।
थामे खोलामा शुक्रवार दिउँसो अचानक आएको बाढीबाट प्रभावित १४० जनालाई तल्लो थामेबाट उपल्लो थामेमा सारिएको उहाँले जानकारी दिनुभयो । उनीहरूलाई स्थानीय बासिन्दाका घर, होटेल र राष्ट्रिय निकुञ्जको कार्यालयमा राखिएको छ । हिजोदेखि नै उद्धारको काम गरिरहेको र थप उद्धार तथा सम्बन्धित क्षेत्रको स्थलगत अवलोकनका लागि रक्षा मन्त्री मानवीर राई सहितको सरकारी टोली हेलिकोप्टरबाट थामे क्षेत्रमा जाने तयारी गरिएको उहाँले बताउनुभयो ।
हिमताल विस्फोट भएर बाढी आएको अनुमान गरिए पनि कारणबारे अझै आधिकारिक विवरण यकिन भइसकेको छैन । बाढी मात्र हो वा हिम पहिरो वा हिमताल विस्फोट भएको हो भन्नेबारे पनि थप अध्ययन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिस्ट इन्जिनियर सुमित अधिकारीले बाढी गएको केही माथि ६ वटा हिमताल रहेकाले तीमध्ये कुनै हिम विस्फोट भएको हुनसक्ने अनुमान गरिए पनि स्थलगत अध्ययन र स्याटलाइट तस्बिरहरूको विश्लेषणपछि मात्र आधिकारिक रूपमा भन्न सकिने उहाँको भनाइ छ ।
अहिले खोलामा पानीको मात्रा घटेकाले तत्कालै जोखिम नदेखिएको तर भविष्यको जोखिमबारे थप अध्ययन पछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१, ०७:१९