काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनुभएका ेछ। केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै उहाँले विश्वविद्यालयमा सुरक्षाको प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गर्नुभएको हो ।
सामाजिक सञ्जाल एक्समा शिक्षामन्त्री भट्टराईले लेख्नुभएको छ– ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागको प्रमुख नियुक्तिको विषयमा विवाद भइरहेको छ । पदाधिकारीहरूलाई नै धम्की आएको भन्दै त्रिभुवन विश्वविद्यालयले गत शुक्रबार शिक्षामन्त्रीलाई पत्राचार गर्दै आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिन आग्रह गरेको थियो ।
त्रिविका रजिस्ट्रार केदार रिजालले शुक्रबार शिक्षामन्त्री भट्टराईलाई लेखेको पत्रमा विश्वविद्यालयमा तत्काल देखिएको असहज परिस्थितिका कारण पदाधिकारी तथा केन्द्रीय कार्यालय परिसर कीर्तिपुरको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको र असुरक्षाको महसुस बढ्न गएका कारण गृह मन्त्रालय मार्फत उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको निजी आवास र केन्द्रीय कार्यालय परिसरको सुरक्षार्थ आवश्यक प्रबन्धका लागि अनुरोध गरिएको थियो ।
मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन कुसुम शाक्यले पहिलो नम्बरमा रहेका पासाङ शेर्पालाई पछि पारेर दोस्रो वरीयतामा रहेका सहप्राध्यापक टीकाराम गौतमको नाम सिफारिस गरेपछि नियुक्तिमा विवाद हुने गरेको छ । विभागले भने वरिष्ठताका आधारमा एक नम्बरमा सहप्राध्यापक शेर्पा, दुई नम्बरमा गौतम र तेस्रो नम्बरमा मनहरि ढकालको नाम सिफारिस गरेकोमा डिन शाक्यले त्यसमा हेरफेर गरेको भन्दै विवाद भएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१, ११:०२