जनकपुर । कुपोषण र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि मधेस प्रदेश सरकार, सांसद्, गैरसरकारी संस्था र सञ्चार माध्यमले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा कुपोषण र हानिकारक परम्परागत अभ्यासको अन्त्यका लागि गरेकाे छलफलमा मधेस प्रदेशका मन्त्री, संसदीय समितिका सभापति, सांसदहरू, मधेस प्रदेश नीति आयोगका पदाधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधि, धार्मिक अगुवा र सञ्चार माध्यमका प्रतिनिधिले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
जनकपुरधाममा आज भएको कार्यक्रममा मधेस प्रदेश सरकारका तर्फबाट शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले बाल पोषण, सुत्केरी र नवजात शिशुको पोषणका विषयमा समाजमा रहेका गलत मान्यता हटाउन सञ्चारमाध्यमलाई साथमा लिएर शिक्षामूलक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश मामिला समितिका सभापति रत्नेश्वर गोईतले सबैको साझा प्रयासबाट मात्रै अन्य प्रदेशको भन्दा कमजोर रहेको पोषणको अवस्थामा सुधार गर्न सकिने भन्दै आवश्यक कानुनहरू निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक लीला रम्ब अधिकारीले मधेसको पोषणको अवस्था र त्यसमा सुधारका लागि सञ्चार माध्यम तथा सरोकारवालाले खेल्नु पर्ने भूमिकाको बारेमा प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रममा महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपाकुमारी यादव, पूर्व राज्यमन्त्री सञ्जय यादव, मधेस स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमुख विनोद यादव, विभिन्न धर्मका धर्मगुरुहरूले आफ्नो तर्फबाट पोषण सुधारका लागि गरिएको इनफ अभियानमा एकजुट हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अकोराबका महासचीव किशोरजंग थापाले सामुदायिक रेडियोहरू पोषणको सुधारका लागि जनचेतना फैलाउन सधैँ खटिरहने बताउनुभयो । सीआईएनका व्यवस्थापक दीपक आचार्यले सञ्चार माध्यमका लागि पोषण गाइडलाइन निर्माण गरेर पोषणको बारेमा सही सूचनाहरू प्रवाह गर्ने काममा सीआईएन लागि रहने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१, १६:०३