काठमाडौँ । तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
आँबुखैरेनी गाउँपालिका– ४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा गाडी खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको र उनीहरु सबै भारतीय नागरिक रहेको पुष्टि भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
१४ जनाको घटनास्थलमै, र बाँकीको उपचारका क्रममा आँबुखैरेनी र चितवनमा मृत्यु भएको हो ।
दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । दुर्घटना भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो।
पोखराबाट काठमाडौँका लागि छुटेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस आज बिहान साढे ११ बजेतिर सडकबाट मस्र्याङ्दी किनारमा खसेको थियो ।
भारतको गोरखपुरबाट पर्यटक लिएर भदौ ४ गते नेपाल भित्रिएको बसले पर्यटकलाई पोखरा घुमाएर काठमाडौँ ल्याइरहेका बेला दुर्घटना भएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१, १८:३७