रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ टोकरपुरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
गएराति त्यस क्षेत्रमा आएको पहिरोले केही घरहरू बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।
पहिरोमा परेका मध्ये ३० वर्षका चण्डिका श्रेष्ठ र १८ महिने बालक आमुश श्रेष्ठको शव फेला परेको प्रहरीको भनाइ छ ।
घटनास्थलबाट घाइते अन्जना श्रेष्ठको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । पहिरोले ४ घर बगाएको विवरण प्राप्त भए पनि मानवीय क्षति र अन्य पूरा विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानियवासीले उद्धारको काम गरिरहेका छन् । पहिरोपछिको बाढीले दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ को सीमानामा रहेको ढुईगाउँ खोलाको पक्कि पुल पनि बगाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१, ०८:५७