काठमाडौँ । सरकारले गोरखाको गण्डकी गाउँपालिकामा विषादी प्रयोगले किसानको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गर्नुभएको मन्त्रालयले जानकारी दिएको छ ।
कार्यदलमा नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक डा. काशीनाथ चिलुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत रिजन कार्की, केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनार र प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत माधव भट्ट रहनुभएको छ ।
तरकारी खेतीमा धेरै विषादी प्रयोग गर्नाले गण्डकी गाउँपालिकाका ६१ जना तरकारी किसानमा क्यान्सर भएको र १५ जनाको मिर्गौला फेल भएको समाचार आए अध्ययन कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यदलले प्रभावित स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेस गर्ने पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१, १२:३०