काठमाडाैँ । २०८० सालको जगदम्बा-श्री सम्मान भाषाशास्त्री प्रा. योगेन्द्रप्रसाद यादवलाई र मदन पुरस्कार पत्रकार मोहन मैनालीको मुकाम रणमैदान पुस्तकलाई अर्पण गरिने भएको छ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो। दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेकाे छ।
नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गर्नुभएकोमा यादवलाई जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरिएको गुठीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार एवं लेखक मैनालीले यसअघि मान्ठा डराएको जुग, उपल्लो थलो, देखेको देश र आकाशमुखीलगायत पुस्तक लेख्नभएको छ ।
नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा-श्री सम्मान अर्पण गर्ने गरिएको छ।
यसवर्षको मदन पुरस्कारका लागि मुकाम रणमैदानसहित भक्त स्याङतानको डम्फुको आत्मालाप (कथासंग्रह), जीवन क्षेत्रीको नुन-तेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र संग्रह) र रोशन थापा ‘नीरव’को सन्त्रासका साठी दिन (उपन्यास) श्रेष्ठसूचीमा परेका थिए । यस वर्ष पुरस्कारको मनोनयनका लागि ३०४ वटा कृति प्राप्त भएको गुठीले जनाएको छ ।
मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो। यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो।
त्यस्तै, २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँकाे सम्झनामा जगदम्बा-श्री सम्मान स्थापना गरिएको थियो। यो सम्मान पहिलो पटक गायक संगीतकार नारायणगोपाललाई अर्पण गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१, १४:०३