काठमाडाैँ । मानवतालाई जीवित राखौँ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवस मनाइएको छ । दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले मानवीय सेवामा अहोरात्र खट्ने रेडक्रसका स्वयंसेवक र कर्मचारीको योगदानको सराहना गर्नुभयो । उहाँले दिवसको यस वर्षको नारालाई सम्पूर्ण रेडक्रसकर्मीले व्यवहारमा उतार्नुपर्ने पनि बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष राधा नेपालीले रेडक्रसका स्वयंसेवक र कर्मचारीहरूको प्रभावकारी समन्वय र आपसी सहकार्यबाट रेडक्रसका गतिविधिहरू सफल रूपमा कार्यान्वयन गर्न सहयोग पुगेको बताउनुभयो ।
सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीमा ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवामा तल्लीन रहेको बताउँदै हाल सोसाइटीअन्तर्गत सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, १ हजार ६१५ उपशाखा, १ सय २० सहयोग समिति र ६ हजार ९३४ जुनियर तथा युवा सर्कल सहितको साङ्गठनिक संरचना रहेको जानकारी गराउनुभयो ।
महामन्त्री श्रेष्ठले यस वर्षको मनसुनका कारण ५५ जिल्लामा आएको बाढी, पहिरो र चट्याङका कारण प्रभावित पाँच हजार जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार र सुरक्षित स्थानान्तरणका साथै तयारी खाना वितरणमा सहयोग पुर्याइएको महामन्त्री श्रेष्ठले बताउनुभयो ।
हालैको बाढी, पहिरो प्रभावित जिल्लामा तत्काल राहत वितरण गर्ने गरी हालसम्ममा दुई करोड १७ लाख एकहत्तर हजार रुपैयाँ बराबरका कम्बल, त्रिपाल, म्याट्रेस आदि राहत वितरणका लागि पठाइएको र हालसम्म १ हजार ५ सय ७९ परिवारलाई ५० लाख रुपैयाँ बराबरको नगद र गैर खाद्य राहत सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष वीरबहादुर बस्नेतले स्वयंसेवक तथा कर्मचारीले रेडक्रसका सात आधारभूत सिद्धान्तलाई सधैँ मनन गरी सेवामा लागिरहनुपर्ने बताउनुभयो ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का नेपाल प्रमुख अजमत उल्लाहले नेपाल रेडक्रस सोसाइटी र आईएफआरसीको साझेदारीमा विपद् व्यवस्थापन, जलवायु परिवर्तनबाट पर्ने प्रभाव, स्वास्थ्य र महामारीका साथै सामाजिक समावेशीकरण लगायतका क्षेत्रमा देशव्यापी गतिविधिहरू सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)का नेपाल कार्यालय प्रमुख सन्देश श्रेष्ठले विगतको द्वन्द्व, भूकम्प र कोभिड महामारीका वेला नेपाल रेडक्रस सोसाइटीसँग मिलेर गरिएको सहकार्यको स्मरण गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१, १८:२१