काठमाडौँ । पत्रकार तथा लेखक खेम थपलियालाई प्रहरीले काठमाडौँको बागबजारबाट पक्राउ गरेको छ । प्रगतिशील लेखक सङ्घ काठमाडौँको बैठकबाट निस्कने क्रममा थपलियालाई पक्राउ गरेको हो ।
थपलिया नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट सांस्कृतिक महासङ्घका महासचिव हुनुहुन्छ । थपलियालाई सशस्त्र इन्टेलिजेन्स ब्यूरोले दिएको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रगतिशील लेखक सङ्घको बैठकबाट फर्कने क्रममा प्रहरीले नाटकीय ढङ्गले घेराबन्दीमा पारेर आफूहरूलाई पनि केरकार गरेको काठमाण्डौँ प्रलेशका अध्यक्ष कौशिला रिसालले जानकारी दिनुभयो ।
थपलियासँगै अध्यक्ष रिसाल, उपाध्यक्ष देबु लुइँटेल, सहसचिब सरिता खनालसहितका लेखकलाई प्रहरीले प्रक्राउ गर्ने कोसिस गरेको हो । प्रगतिशील लेखक सङ्घ केन्द्रका महासचिव समिर सिंह, उपमहासचिब आरसी न्यौपाने, सचिव प्रकाश थापा मगर, केन्द्रीय सदस्य मधु क्षेत्री, पारस ढकालसहित बैठक बसेको थियो ।
बैठकपछि फर्कने क्रममा प्रलेशका यसअघिका केन्द्रीय उपाध्यक्ष थपलिया, लुइटेल, रिसाल र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । केही बेरको केरकारपछि ३ जना लेखकलाई छोडे पनि पत्रकार तथा लेखक थपलियालाइ भने प्रहरीले प्रक्राउ गरेको हो ।
सिंहदरवार प्रहरी वृत्तका डिएसपी कौशल बुढाथोकीले भने लेखकहरूसँग उनीहरूकै कार्यालयमा लगेर केही बेर सोधपुछ मात्रै गरेको बताउनुभयो । अन्य महिला लेखकलाई सोधपुछ मात्रै गरेको तर थपलिया भने विप्लव नेतृत्वको नेकपामा संलग्न रहेको उजुरीका आधारामा प्रक्राउ गरिएको डिएसपी बुढाथोकीको भनाइ छ ।
लेखकहरूलाई आवश्यक सोधपुछ मात्रै गरेकाले कुनै नराम्रो व्यवहार नगरेको उहाँको दाबी छ ।
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६, १८:००