काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले लघु साना तथा मझौला कृषि व्यवसायीहरूको समस्या समाधान हुनेगरी कृषि दशक योजना बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
काठमाडौँमा आजबाट सुरु भएको "नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमको स्थिति, अवसर र चुनौती" विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मन्त्री अधिकारीले कार्यशालाको निष्कर्ष सरकारलाई जानकारी गराउन अनुरोध गर्नुभयो ।
सरकारले आगामी १० वर्षमा निर्यात बढाउने र आयात रोक्ने गरी योजना बनाउने काम भइरहेको जानकारी गराउँदै सरकारको यो योजनामा निजी क्षेत्रले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कृषि दशकका लागि २०८१ सालदेखि २०९१ सम्म कार्यान्वयन गर्ने गरी छलफल चलिरहेको उहाँको भनाइ छ ।
कार्यक्रममा संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुशुमदेवी थापाले एकीकृत कृषि नीति बनाउने काम भइरहेको बताउँदै लघु साना तथा मझौला कृषि उद्यमीहरूलाई कसरी समावेश गर्ने भन्ने बारेमा सरोकारवाला निकायसँग विस्तृत छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यशालाबाट साझा निस्कर्ष निकालेर समितिलाई जानकारी दिन उहाँले अनुरोध गर्नुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अमेरिकी सहयोग नियोगको सहयोगमा सिमिट एनसाफसँगको सहकार्यमा उद्योग वाणिज्य महासङ्घ मातहतको कृषि उद्यम केन्द्रले चलाएको कार्यक्रमको नितजा सकारात्मक दिखएको बताउनुभयो ।
मन्त्रालयले लघु तथा घरेलु उद्यमशीलतालाई प्रोत्साहन गर्नका लागि उद्यमशीलता तालिम, सहुलियत कर्जालगायतका सुविधा दिँदै आएको उहाँको भनाइ छ । लघु साना तथा मझौला कृषि व्यवसायीलाई सजिलो हुने गरी नीति तथा निर्देशिका समयानुकुल बनाउने गृहकार्य भइरहेको सचिव राउतले जानकारी दिनुभयो ।
स्थानीय सरकार र प्रदेश सरकारले लघु साना तथा मझौला व्यवसायीका लागि अझ धेरै काम गरे राम्रो हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सबनम सिवाकोटीले सहुलियत कर्जा निर्देशिका संसोधनको तयारी भइरहेको जानकारी दिँदै उत्पादन र बजारबीच सिधा सम्बन्ध स्थापित गराउनका लागि मन्त्रालय लागिपरेको बताउनुभयो ।
प्रस्तावित कृषि विधेयक २०८१ को मस्यौदा बनाउने काम भइरहेकोले लघु साना तथा मझौला व्यवसायीको राष्ट्रिय कार्यशालाको निचोड सरकारका लागि पनि मार्गदर्शक बन्ने धारणा राख्नुभयो ।
सिमिटका आवासीय प्रतिनिधि तथा नेपाल बीउ तथा मल परियोजना संयोजक द्युतीमान चौधरीले दिगो विकासको लक्ष प्राप्त गर्नका लागि पनि आफूहरूले उद्योग वाणिज्य महासङ्घमार्फत उद्यमीलाई सहयोग गरिएको बताउनुभयो ।
रसिया र युक्रेनबीचको द्वन्द्व र कोभिड १९ को महामारीका कारण प्रभावित उद्यमी, व्यवसायीलाई सहयोग गर्न चलाइएको परियोजनाबाट आयात प्रतिस्थापनमा सहयोग पुगेकोमा आफूहरूलाई पनि खुसी लागेको धारणा राख्नुभयो ।
राष्ट्रिय सहकारी महासङ्घका सभापति ओमदेवी मल्लले लघु उद्यमी व्यवसायीको क्षमता विकास र बजार व्यवस्थापनमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारसँग सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो ।
कार्यशाला अन्तर्गत आज लघु साना तथा मझौला उद्यमीहरूको विकास र दिगोपनाको स्थिति, मुद्दा, अवसर र असल अभ्यास, सिकाइ, व्यावसायिक सम्नबन्ध र सिकाइलगायतका विषयमा छुट्टाछुट्टै सत्रमा छलफल भएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१, १७:२४