मेरा पाँच ओटी फुपू दिदी अनि पाँच जनै मामा । म यो कुरोमा धनी । डाहा गर्थे मेरा साथीहरू, जसका मामा पनि एक दुई जना अनि फुपू पनि एक दुई जना मात्र ।
म र मेरो भाइ घरमा पाहुना आइदिए नि हुन्थ्यो भन्थ्यौँ । किनकि पाहुना आउँदा खाली हात नआउने । केही न केही पापा ल्याउने । पापा पाउने भएपछि हामी केट्केटीलाई थप के चाहियो?
त्यो बेलाको सबैभन्दा चलनचल्तीको र उच्च कोटीको पापा चाहिँ उही पिपलमेठ अनि अलि माथि उक्लियो भने नेबिकोको ग्लुकोज बिस्कुट ।
पिपलमेठ काफल गेडी त यसो पैसो चोर चार गरेर बेलाबेला चाख्न पाइन्थ्यो । तर बिस्कुट खान त कुर्नै पर्ने फुपू , मामा, भानिज बा, भान्दाइ, ठुलो बालगायत 'पाहुना'लाई। आफैले किनेर खान त दसैँ आउन परो । मामाले टिका लाएर दिने दक्षिणा पाएर मात्र बिस्कुट किन्ने औकात बनाइन्थ्यो।
तर यो मामलामा म भाइभन्दा अलि भाग्यमानी । मलाई औँसी, पुर्ने, सङ्क्रान्ति आदिमा मामाघरमा 'बाउन खान' बोलाउँथे र निधारमा टीका र हातमा दक्षिणा दिन्थे । यो अवसरबाट बिचरा भाइ भने वञ्चित थियो । किनकि त्यति बेला ऊसँग जनै थिएन मतलब उसको व्रतबन्ध भएको थिएन ।
यसरी पाइने पैसो गन्दै देखाउँदै गर्दाको शानको बखान गरी के साध्य र ? भाइलाई अनि छिमेकी भुरा टोलीलाई देखाएर पैसो कति पल्ट गनियो गनियो । नोट त त्यै हो एक रूप्पेको तर गन्दा गन्दा त्यो हजार रुप्पे जस्तो बन्थ्यो ।
त्यस बेला बढो इज्जतका साथ खाइएको भएकाले पनि होला त्यो नेबिको ग्लुकोज बिस्कुट मात्र बिस्कुट जस्तो लाग्छ ।
एक चोटी घरमा माइली फुपू आउनुभयो । ढोग भेट र सन्चो बिसन्चोको भलाकुसारी पछि कुरो आयो पापाको । दिदीले भाइहरूलाई भनेर एउटा र हजुरआमालाई एउटा गरी दुई वटा ग्लुकोज बिस्कुट ल्याउनुभएको रहेछ। हामीले आफ्नो भागको बिस्कुट त कपाकप खाइहाल्यौँ । तर हाम्रो ध्याउन्न हजुरआमाले चाहिँ हामीलाई कतिखेर बिस्कुट दिने होला भन्नेमा मात्रै केन्द्रित भयो ।
भोलिपल्ट धेरै कोसिस पछि बल्ल भेटियो अर्को ग्लुकोज बिस्कुट । सँगै पर्यो आपत् खान त खाने तर कहाँ लुकेर ? बल्लतल्ल एउटा जुक्ति फुर्यो अनि चढियो बुइँगल अनि कपाकप बिस्कुट खाइयो । चोरेको भएर पनि होला अलिकति मात्र मीठो होइन ।
खुसुक्क खाइयो अनि लुसुक्क खेल्न हिँडियो।
फर्केर आउँदा घरमा बा आका रेछन्। अरू आए पो खुसी हुनु, बा आउँदा के खुसी हुनु ? पापा ल्याउने हैन के रे ।
कहिलेकाहीँ मात्र घर आउँथे हाम्रा बा । अरू किताब नचिने पनि राता गाता भएको किताब चाहिँ चिनिन्थ्यो । अनि एउटा चाहिँ हाम्लाई किताबको गाता हाल्ने चिप्लो पान्ना भएको सचित्र चिन भन्ने पत्रिका।
तर हजुरआमाले यो चोटि पनि धर्म छोड्नुभएन बिस्कुट मैले नै चोरेको भन्ने थाहा पाएर नि बालाई भन्नु भएन । जसका कारण बचियो कुटाइ खानबाट।
बिस्तारै पापाको परिभाषा फेरियो । अब चुइङ्गम, बरफ, कोक फ्यान्टा चाहिँ पापा जस्तो लाग्न थाल्यो । यहाँसम्म त ठिकै थियो । राजधानीको बसाइका क्रममा एक दुई जना मित्रले भैँसीको मासु हालेको मोमोको डल्लो पो पापा हो त भन्न थाले । तर आफूलाई भने त्यसको गन्धै मन नपर्ने । रत्नपार्क वरपर हिँड्दा ह्वार्र मोमोको बाफ पनि गनाउँथ्यो ।
तर साथीहरू भनेका यस्ता गजब पात्र हुन् जसले जस्तो सुकै समस्या समाधान गर्दिहाल्छन् । जस्तो कि मम नखाने मेरै अड्डी सुनेपछि उनीहरूले नयाँ जुक्ति निकालिहाले । उनीहरू भन्न थाले- 'तँ पिठो मात्रै खा, भित्रको मासु हामी खाउँला।' साथीको बारम्बारको सुझाव, अनुरोध र बेलाबेला धम्कीयुक्त आग्रह नमान्न पनि त सकिन्न । 'बाहुनको छोरो' अझ जनै काँधमा भिरेको भएरै पनि सुरु गरियो भैँसीको मासु खान ।
सुरुमा त झन्डै बान्ता नभएको पनि होइन । तर बान्तालाई बानीले जित्यो । बिस्तारै बानी यस्तरी लत बन्यो कि अमिइइइइलो पिइइइरो अचारमा चप्लक्क चोपेर ममको तात्तातो डल्लो क्वाप्ल्याक्क खाँदाको स्वाद यो खानेबाहेकलाई के थाहा ? थाहा त होइन अनुमानधरि गर्न नसकिने कुरो हो नि यो । अझ झोलमा डुबेको डल्लोलाई चम्चामा राखेर आहाल बसाए झैँ हल्का हल्लाउँदै खानुको स्वाद गजब थियो नै ।
घरमा भन्न सकिने अवस्था थिएन । घरकाले खास शङ्का गरेनन् पनि । १० वर्ष जति त मम सधैँकाे साथी जस्तै बन्न पुग्यो । त्यसपछि एक पटक आँखीझ्याल हो कि कुनै भिडियो रिपोर्टमा भैँसीको मासु काटेको र ओसारपसार गरेको देखे पछि चाहिँ बफ मम खाने दुस्साहस गर्न सकिएन ।
यसरी बाल्यकालका पापाहरू ठुलो भएसँगै खान छोडियो । ठुलो भएपछिको यो पापा कुरो बुझेर खान छोडियो । पापाहरू बिरानो बन्दै गए...
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१, १५:२२