काठमाडौँ । देशभरका सामुदायिक रेडियोहरूको छाता सङ्गठन, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १८ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन तथा सामुदायिक रेडियो अन्तराष्ट्रिय सम्मेलन आजदेखि ललितपुरमा सुरु भएको छ ।
सम्मेलन अन्तर्गत सामुदायिक रेडियोको विकास र विश्वव्यापी अभ्यास तथा चुनौतीका बारेमा छलफल सकिएको छ ।
छलफलमा सहभागी हुँदै सामुदायिक रेडियोहरूको विश्व सङ्गठन (अमार्क) एसिया प्यासेफिकका निर्देशक सुमन बस्नेतले सामुदायिक रेडियो समुदायका लागि अझैँ महत्वपूणर् भए पनि रेडियोहरूले विभिन्न चुनौतीको सामना गर्नु परेको बताउनुभयो ।
एसियाप्यासेफिक क्षेत्रमा सामुदायिक रेडियोको सङ्ख्या कुनै समयमा धेरै भए पनि अहिले निरन्तर घट्दै गएको उल्लेख गर्नुभयो ।
नेपालको सन्दर्भमा सामुदायिक रेडियोमैत्री नीतिको अभावका कारण पनि रेडियोहरू समस्यामा रहेको उहाँको भनाइ थियो ।
सामुदायिक रेडियोको विकास र दिगोपनाका लागि समुदायको अपनत्व र आफ्नो अधिकारका लागि सामुदायिक रेडियो प्रसारकबीच एकताको आवश्यकता रहेको बस्नेतको भनाइ थियो ।
एसिया प्यासेफिक ब्रोडकास्टिङ यूनियन (एबीयू) का रेडियो विभाग प्रमुख वल्या बोयरले अष्ट्रेलियामा सामुदायिक रेडियोले जलवायु परिवर्तन, सांस्कृतिक तथा भाषिक क्षेत्रमा राम्रो अभ्यास गरेको सुनाउँदै सामुदायिक रेडियोको दिगोपनाका लागि स्थानीयस्तर र स्थानीय भाषको सामग्रीमा जोड दिन अनुरोध गर्नुभयो ।
समुदायसँग सहकाार्य गरी रेडियो प्रसारणमा ध्यान दिँदै उहाँले एबीयू र अकोराबका बीचमा पछिल्लो समयमा सहकार्य बढ्दै गएको जानकारी गराउनुभयो । नेपालका सामुदायिक रेडियोले समुदायमा सकारात्मक प्रभाव छोड्दै गएकाले यहाँका सामुदायिक रेडियोको भविष्य उज्वल रहेका धारणा राख्नुभयो ।
सम्मेलनमा जापान मिडिया कम्युनिकेशन सेन्टरका वरिष्ठ कार्यकारी म्यानेजर गोटो टोरुले आफूहरूले भिडिओ सामग्री उत्पादनमा जोड दिँदै आएको बताउँदै नेपालका सामुदायिक रेडियोसँग मिलेर अघि बढ्न सक्ने थुप्रै सम्भावना रहेको जानकारी गराउनुभयो । अष्ट्रेलियाको राष्ट्रिय बहुसांस्कृतिक प्रसारक काउन्सिलिका बोर्ड सदस्य प्रदीप तिमल्सिनाले अष्ट्रेलियामा नेपाली प्रसारणको सुरुवात, अवसर र चुनौतीका बारेमा आफ्नो अनुभव सुनाउनुभएको थियो ।
सम्मेलनमा अष्ट्रेलियन फिल्म टेलिभिजन तथा रेडियो स्कूलका नाटालिया पोजदीभ, भारतको द रेडियो फोस्टिबलका निर्देशक अर्चना कपूरले पनि सामुदायिक रेडियोको अवसर, चुनौती र सुधार गर्नुपर्ने पक्षका बारेमा आआफ्नो अनुभव तथा विचार राख्नुभएको थियो ।
सम्मेलनमा अकोराब र अष्ट्रेलियाको कम्युनिटी ब्रोडकास्टिङ एसोसिएसन (सीबीएए) बीचमा सहकार्य सम्झौतामा हस्ताक्षर पनि भएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१, १३:०७