काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक बर्षमा झण्डै २७ हजार वटा उजुरी परेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई आईतबार वार्षिक प्रतिवेदन बुझाउँदै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ वटा उजुरी परेको जानकारी दिनुभएको हो ।
अघिल्लो आर्थिक वर्षमा छिनोफानो हुन बाँकी ९ हजार २६८ समेत गरी ३६ हजार १८६ वटा उजुरी भएकाे उहाँले बताउनुभयो । कुल ३६ हजार १ सय ८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात ७६ दशमलव ५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फर्स्यौट भएको जानकारी पनि प्रमुख आयुक्त राईले जानकारी दिनुभयो । अख्तियारले फर्स्यौट नभएका उजुरीमध्ये आयोगको क्षेत्राधिकारभित्र नपरेका, गोलमटोल प्रकृतिका वा दुःख दिने नियतका र तथ्य प्रमाणबिनाका सामान्य प्रकृतिका १३ हजार ५९३ वटा उजुरी तामेली गरेको छ ।
फर्स्यौट भएकामध्ये १ हजार १३३ वटा उजुरीबारे विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने १२ हजार ७८६ उजुरी उपर कानून बमोजिम अन्य आवश्यक कारबाही गरिएको छ । १३१ वटा उजुरी सुझाव दिइ तामेली गरिएको छ । प्रारम्भिक छानबिनको क्रममा रही फर्स्यौट हुन बाँकी रहेका ८ हजार ४७२ उजुरी आर्थिक वर्ष २०८१/०८२ मा सरेका छन् ।
सबैभन्दा बढी उजुरी परेका क्षेत्रमा क्रमशः संघीय मामिला, स्थानीय तहसमेतको ३८ दशमलव ९१ प्रतिशत, शिक्षा, स्थानीय तहसमेत १५ दशमलव ७९ प्रतिशत, गैरकानूनी सम्पत्ति आर्जनसँग सम्बन्धित ६ दशमलव ९८ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६ दशमलव ४९ प्रतिशत रहेका आयोगले जनाएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ४ दशमलव ७१, वन तथा वातावरणको ३ दशमलव ८२, स्वास्थ्य तथा जनसंख्याको ३.६,भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३ दशमलव ६१, गृह प्रशासनका ३ दशमलव ५२, अर्थ क्षेत्रसँग सम्बन्धित २ दशमलव १२, उर्जा, जलश्रोत तथा सिंचाईसँग २ दशमलव १०, खानेपानीका १ दशमलव ६१ प्रतिशत उजुरी रहेका छन् ।
यो अवधिमा कुल १ हजार ४५ जनालाई प्रतिवादी बनाइ ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बिगो माग दाबी लिइ मुद्दा दायर गरिएको प्रमुख आयुक्त राईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१, १५:१९