काठमाडौँ । २०८१ सालको "डा कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार" पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई दिइएको छ ।
सर्वदा साहित्य सङ्गम नेपालगञ्जले साहित्य, कला र संस्कृतिको क्षेत्रमा अनुकरणीय योगदान गरेका मध्येबाट हरेक वर्ष एक जना श्रष्टालाई पुरस्कार दिन थालेको हो ।
पहिलो वर्ष पूर्वप्रधानमन्त्री तथा साहित्यकार चन्दलाई सम्मान र पुरस्कार हस्तान्तरण गरिएको सर्वदा साहित्य सङ्गम नेपालगञ्जका अध्यक्ष खगेन्द्र गिरी कोपिलाले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री चन्दको भक्तपुरको लोकन्थलीस्थित निवासमा एक कार्यक्रम गरी अध्यक्ष कोपिला र सचिव भीम प्रज्वलले पुरस्कार हस्तान्तरण गर्नुभयो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।
सम्मान र पुरस्कार ग्रहण गर्दै चन्दले आफू अझैँ पनि अध्ययनमा रहेको बताउँदै नयाँ पुस्ताका लेखकबाट नेपाली साहित्यले धेरै अपेक्षा गरेको धारणा राख्नुभयो ।
आफूप्रतिको सद्भावका लागि सर्वदा साहित्य सङ्गमलाई धन्यवाद दिँदै यस्ता सम्मानले खुसी मिल्ने बताउनुभयो ।
पुरस्कार अर्पण कार्यक्रममा बाँकेका सांसद डा. धवल शमशेर राणा, पूर्वमन्त्री जयन्तबहादुर चन्द, वरिष्ठ पत्रकार तीर्थ कोइरालालगायत बाँके, बर्दियासहित साहित्यिक, सामाजिक र राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१, १९:४०