काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घीय महासभाको ७९औँ अधिवेशनमा भाग लिनअमेरिका प्रस्थान गर्नुभएको छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेका छन्।
प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँअसोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने पनि मन्त्रालयले जनाएको छ ।
यस वर्ष महासभाको साधारण बहसकाे विषय 'कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ रहेको छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलन तथा समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ ।
यस्तै, उहाँले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने 'नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ।
प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१, १३:३८