काठमाडाैँ । सहकारी संस्थाहरूमा बचतकर्ताको साढे ७६ अर्ब रुपैयाँ फसेको भेटिएको छ । आज सार्वजनिक गरिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले ३९ वटा सहकारीमा नागरिकको ७६ अर्ब ५० करोड रुपैयाँ बचत रकम फसेको उल्लेख गरेको छ ।
यीमध्ये सबैभन्दा धेरै शिव शिखर बहुउद्देश्यीय सहकारीमा ९ अर्ब ५८ करोड ७४ लाख, कान्तिपुर बचत तथा ऋण सहकारीमा ७ अर्ब ९७ करोड ७५ लाख, ओरेन्टल कोअपरेटिभमा ८अर्ब ३८ करोड, सुमरु बचत तथा ऋण सहकारीमा सात अर्ब २३ करोड ८८ लाख, लालीगुराँस बहुउद्देश्यीय सहकारीमा ६ अर्ब ३४ करोड ६८ लाख र आइडल यमुना बहुउद्देश्यीय सहकारीमा ६ अर्ब २६ करोड ८५ लाख रुपैयाँ फसेको छ ।
त्यसैगरि, गौतम श्री सहकारीमा चार अर्ब ५८ करोड ६६ लाख र गोरखा बचत तथा ऋण सहकारीमा चार अर्ब १२ करोड १० लाख रुपैयाँ बचत रकम फसेको छ । सञ्चालकहरूले नै सहकारीको रकम हिनामिना गर्नु, घरजग्गा लगायत गैर उत्पादनशील क्षेत्रमा लगानी गर्नु, विना धितो ऋण लगानी गर्नु, जगेडा कोष तथा कर्जा नोक्सानी व्यवस्था नगरिनु, सहकारी मापदण्डको पालन नगरिनु जस्ता कारणले सहकारीमा सर्वसाधारणको बचत रकम फसेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सहकारी संस्था दर्ता र कार्यक्षेत्र विस्तारमा नियन्त्रण, समस्याग्रस्त संस्थाको वित्तीय कारोबारको फोरेन्सिक अडिट, सम्पत्ति शुद्धीकरण निवारण कानूनको कार्यान्वयन र नियमित अनुगमन गर्नुपर्ने सुझाव दिइएको समितिका सभापति सांसद सूर्य थापाले बताउनुभयो । साथै, नियामक निकायको क्षमता अभिवृद्धि, कर्जा असुली न्यायाधिकरणको गठन, अनुत्पादनशील क्षेत्रमा लगानी निरुत्साहन र सहकारी शिक्षा तथा तालिमको व्यवस्था गर्न सुझाव दिएको छ।
चर्चामा रहेको गोर्खा मिडियाको कारोबारका सम्बन्धमा छानबिन समितिले तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले १६ वटा कारोबारबाट जम्मा २३ करोड ७९ लाखको कारोबार गरेको पाइएको उल्लेख गरिएको छ । लामिछानेले बयानमा आफूलाई आर्थिक अधिकार नभएको दाबी गरे पनि तीन जना सञ्चालकमध्ये लामिछानेको एकल हस्ताक्षरबाट २३ करोड ७९ लाखको कारोबार भएको देखिएको उल्लेख गरिएको हो । प्रतिवेदनमा लामिछाने प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ ऋण गोरखा मिडिया नेटवर्कको नाममा आएको भेटिएको उल्लेख गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने २०७७ चैत २५ देखि २०७९ असारसम्म गोरखा मिडिया नेटवर्कका शेयर धनी रहेको, यो कम्पनीको शेयर हस्तान्तरण पनि फर्जी देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, छानबिन समितिले सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी मुद्दामा कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङलाई कारबाही गर्न निर्देशन दिएको छ ।
धनराजले सम्बन्ध विच्छेद गरेकी श्रीमती ज्योति गुरुङसँग मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न समितिले निर्देशन दिएको हो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन–२०८१
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१, १९:१२