काठमाडौँ । नागरिकता विधेयक संसदमा दर्ता गरेको एक वर्ष पुग्दा पनि दलहरूबीच कुरा नमिल्दा संसदीय समितिमा रोकी राखिएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयक थन्क्याइएको छ । मुख्यगरी अङ्गीकृत नागरिकताका विषयमा दलहरूबीचमा मत बाझिएपछि शीर्ष तहमा सहमतिको पहल गर्न भन्दै समितिले ५ सदस्यीय उपसमिति गठन गरेको थियो ।
तर उपसमितिले आजसम्म छलफल गर्न सकेको छैन । काँग्रेसले भने सत्ता पक्षका सांसदहरूले नै चासो नदेखाउँच्दा नागरिकता विधेयक अन्यौलमा परेको आरोप लगाएको छ ।
सीआईएनसँग कुरा गर्दै उपसमिति सदस्य देबेन्द्रराज कडेलले आफूहरूले छलफलबाट यो विषय निकासमा लैजान पहल गरे पनि सत्ता पक्षका सांसदले चासो नदेखाएका कारण नागरिकता विवादमा उपसमितिमा छलफलै हुन नसकेको बताउनुभयो ।
नेपाली पुरुषले विहे गरेको महिला र नेपाली महिलाले बिहे गरेको पुरुषलाई दिने नागरिकताका बारेमा विवाद छ ।
संविधानको भाग २ को धारा ११ को दफा ६ ले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानून बमोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था गरेको छ ।
तर संविधानले नेपाली महिलासंग विहे गरेका विदेशी पुरुषका बिषयमा भने कुनै व्यवस्था गरेको छैन । यही विवादले नागरिकता विधेयक संसदिय समितिमा नै अड्किएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६, ०९:३९