नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘देशको सङ्गीत’ सञ्चालनका क्रममा धेरै स्रष्टासँग साक्षात्कार गर्ने मौका मिल्यो । हरेकका आआफ्नै अनुभव, योगदान र अवस्था हुने नै भयो । धेरैले धेरै तरिकाले छाप छोड्नु भयो । ऐन मौकामा तिनको सम्झना भइरहेकै पनि छ । यसै क्रममा गायक गीतकार सङ्गीतकार तथा लेखक गणेश रसिकसँगको भेटले मनमा भिन्न छाप छोडेको छ ।
‘देशको सङ्गीत’ टिम कार्यक्रम सुटिङका लागि गाडीमा निस्कन्छ । सिंहदरबारबाट कोटेश्वर हुँदै भक्तपुर तिर । बाटो भुल्दै, फेरि खोज्दै र पत्ता लगाउँदै १२ बजेतिर हामी बालकोट पुग्छौँ।
घुम्ती पार गर्दै पक्की सडक सकिएपछि भेटिएको कच्ची बाटोका पनि घुम्तीहरू पार गर्दै जाँदा सिमेन्टको सहर भित्र पनि हरियो गहुँ बारी देखिन्छ । सडक टुङ्गिएपछि खेतहरूकै बिचमा फाट्टफुट्ट घर उभिएका छन्। तिनै घरका बिचमा बस्छन् गायक, सङ्गीतकार, गीतकार तथा साहित्यकार गणेश रसिक ।
घरको दोस्रो तल्लामा पुगे पछि क्यामरा पर्सन सुटिङको एङ्गल हेर्दै तारतम्य मिलाउनतिर लाग्छन् । म भने सोफामा बसेर भित्तामा झुन्डिएका तस्बिरहरू नियाल्न थाल्छु ।
यस क्रममा समयले पाकेका केश अनि अबोध बालकको जस्तो अनुहारसहितका व्यक्ति मन्द मुस्कानसहित हामीलाई स्वागत गर्न आइपुग्छन् । अगाडि कै सोफामा बिस्तारै बस्छन् । हातमा ठुलो प्लास्टिकको बट्टाभरि औषधि बोकेर एक पुरुष आइपुग्छन् । जो हामीलाई लिन घर बाहिरसम्म गएका थिए । रसिक चाहिँ हामीसँग औषधि खाने अनुमति लिएर पाँच पाँच मिनेटको फरकमा सात आठ वटा औषधिका गोली निल्छन् । औषधि खाँदै गर्दा उनी भन्छन्–‘अघिल्लो हप्ताको लागि फिक्स गरिएको सुटिङ म बिरामी परेकोले पछि सर्न पुग्यो, नरिसाउनुहोला है नानी ।’ म- ‘किन रिसाउनु र, ठिक छ नि ।'
उमेरले ८ दशक नाघेका रसिकले जीवनका धेरै उकाली ओराली, भन्ज्याङ अनि चौतारीहरू पार गरिसकेका छन् । जीवनको यात्रामा कति साथ भेटिए कति छुटे एक एक हिसाब सुनाउँछन् । भन्छन्– ‘समय र उमेरसँगै जोडिएका सम्बन्धहरू बाटोका यात्रु जस्तै हुँदा रहेछन् समयसँगै आउँदा रहेछन् र समयसँगै छुटेर जाँदा पनि रहेछन्।
एक छिनको मौनता पछि भित्ताभरि झुन्डिएका मौन तस्बिर हेरेर टोलाउँछन् । केही भावुक हुन्छन् । तस्बिरसँगै केही पल मौन संवाद गरेको आभास हुन्छ मलाई । आमा बाका श्याम श्वेत तस्बिर हामीलाई देखाउँदै परिचय दिन्छन् । सँगै झुन्डिएको हुन्छ मन्द मुस्कानसहितको श्रीमतीको रङ्गिन तस्बिर । उक्त तस्बिरमा केही क्षण रोकिन्छन् । निकै भावुक हुन्छन् । आँखाभरि आँसु टिलपिलाएका हुन्छन् ।
जीवनका सुख दुःखमा साथ दिने भएर नै सायद जीवनसाथी भनिएको होला । तर कोभिडले चुँडेर लग्यो उनको जीवनको साथ, सुख अनि खुसी । त्यही दिनपछि उनी एक्लो ठान्छन् आफूलाई । अन्तिम चरण पुगिसकेको क्यान्सरसँग जुधिरहेका छन् अहिले उनी । त्योसँगै खाइरहेको छ उनलाई एक्लोपन र निराशाले । भन्छन् ‘कति दिनदेखि बिस्ताराबाट उठ्न पनि कठिन भइरहेको थियो । केमो दिँदा दिँदा कमजोर र शिथिल भएको छ शरीर। गलेर बिस्ताराबाट उठ्ने आँट पनि आउँदैन आजभोलि शक्ति पनि छैन । जोस, जाँगर पनि छैन । ‘कति दिन भयो कौसीमा घाम ताप्न निस्किन मन भएको तर उठेर जान सकेको थिइनँ । आज तपाईँ आउँदै हुनुहुन्छ भनेर बिहानै उठेँ। खोइ कसरी जाँगर चलेर आयो ? उठेर हिँड्ने तागत कहाँबाट आयो कुन्नि ? ऊर्जा मिले जस्तो, खुसी मिले जस्तो पो भैराछ । धेरै दिन पछि आज बिहानै उठेँ यताउता मिलाएँ र केही पाइला भर्याङ पनि चढेँ। खुसी नै रहेछ सब थोक । जोस जाँगर र हौसलाको लागि पनि मन रमाउनुपर्दो रहेछ । खुसी हुन पनि बहाना पो चाहिँदो रहेछ । मन रमाउन पनि केही अथवा कोही हुनुपर्ने रहेछ नानी ।’
उहाँका कुरा सुन्दै गर्दा मेरो मन भने भारी भयो । आँखा टम्म भरिए । म मात्र होइन सबै जना भावुक भएर उनका कुरा सुनिरहेका र मनन गरिरहेका थियौँ । आजसम्म म सोच्थेँ म टेलिभिजनमा एउटा कार्यक्रम चलाउने काम मात्र गरिरहेकी छु तर आज यस्तो लाग्यो कि, म त सेवा पनि गर्दै रहेछु । कसैको जीवनमा प्रेमको कारण वा एक पलको खुशीको पनि कारण बन्ने काम पनि गर्दो रहेछु । मलाई त्यो क्षणमा अथाह खुसी मिल्यो । एकदमै आत्मसन्तुष्टि मिल्यो । सोचेँ मानिसको जीवन कति कठिन छ । कति एक्लो छ मान्छे ।आर्थिक सम्पन्नता छ होला कतै, कतै त्यसकै अभाव पनि होला तर पनि खुसीको अभाव सर्वत्र छ। प्रेमको भोक छ आजको मान्छेमा । सब छन् तर पनि कोही छैनन्। आखिर किन एक्लो छ मान्छे ? बनावटी छ दुनियाँ आजकल । हाँसो देखाउँछ बाहिर तर भित्र निरस छ । मलिन छ । दुखी छ । बेसहारा छ । छटपटीमा पलपल तड्पिएर बाँचेको छ मान्छे । आखिर किन आफैले आफैलाई पिडा दिन रुचाउँछ मान्छे ? के खोला जस्तै स्वच्छन्द बहन सक्दैन ? के फूलहरू जस्तै फुल्न अनि सुगन्ध छर्न सक्दैन ? चरा जस्तै निर्बाध उड्न सक्दैन ? पुतली अनि मयुर जस्तै नाचेर रमाउन सक्दैन ? आखिर किन ?
गायक बन्ने सपना पूरा गर्न गाउँबाट काठमाडौँ छिरेका गणेश रसिकले निकै सङ्घर्ष गरे । धेरै चर्चित गीतहरू पनि गाए । आफ्ना जीवनका अनुभूतिलाई कविता बनाएर लेखे । समाजका कथाहरूलाई उपन्यासमा ढालेर लेखे । लेखन सँगसँगै जागिर पनि खाए । उच्च पद, प्रतिष्ठामा बसेर निकै वर्ष काम पनि गरे । सङ्गीत तथा नाट्य प्रतिष्ठानको प्राज्ञ पनि भए । कयौँ मान, सम्मान र पुरस्कार प्राप्त गरे तर आज उनलाई ती कुनै प्रति पनि मोह छैन ।
अन्तर्वार्ताका क्रममा निकै खुलेका रसिकले मन परेका गीतहरू रमाएर गाए । उनले हौसिएर गीत गाइरहँदा उनको मुहारमा फैलिएको खुसीको आभाले उनलाई तरुण देखाइरहेको थियो । त्यो क्रममा म उनका कुरा र गीत सुनिरहेको मात्र थिइनँ, उनलाई पढिरहेकी पनि थिएँ । उनको त्यो अबोधपनाले मलाई आनन्द दिइरहेको थियो ।
सुटिङ सकियो, चिया खायौँ र हामी फर्कियौँ । तर ती पलहरूले मलाई छोड्न सकेनन् । बारम्बार मनमा चस्किरहे। झस्काइ रहे।
हिजो आज हामी देखि रहेका छौँ, कुनै गायक सङ्गीतकार वा रचनाकारको निधनमा उसैका गीत गाएर मृत्यु शोक मनाइरहेको दृश्य । त्यो समयमा अत्यन्तै व्यस्त व्यक्तिहरू पनि पुगेका हुन्छन् । श्रद्धाञ्जली दिनका लागि पनि केही पल अनुहार देखाउन भए पनि । नेता, कलाकार, साहित्यकार, पत्रकार अनि चर्चित व्यक्तिहरू । घण्टा दुई घण्टा उनीहरू मृत्यु उत्सवमा सरिक हुन समय निकाल्न सक्छन् । कोही गाउँछन् । कोही बजाउँछन् । कोही आँसु झार्छन् । कोही फूल माला खादा चढाउँछन् । अझ कोही त भाषण पनि छाँट्न भ्याइसक्छन् ।
भन्छन् नि, बैँसमा घोर्ले हुन्छ स्याल पनि । यौवनले सुन्दर रूप हुन्छ । शक्ति हुन्छ । हिँड्न मात्र होइन दौडन सकिन्छ । साथीभाइ हुन्छन् । रमाइलो गर्दै, खाँदै नाच्दै मोज मस्ती गरिरहँदा सारा दुनियाँ सँगै हुन्छ । लाग्छ दुनियाँ मेरै हो । तर समयसँगै बदलिन्छ सब थोक । उमेर पाक्छ । चाउरिन्छन् सम्बन्धहरू । आफ्नाहरूसँग पनि दूरी बढ्छ । तागत घट्छ । काम घट्छ । टाढिन्छन् साथिभाइ । समय फेरिन्छ । जिन्दगीको सुई सेकेन्डको रफ्तारबाट घटेर घन्टाको तालमा चल्न थाल्छ । सबैले बिर्सिँदै जाँन्छन्,बिस्तारै बिस्तारै । एक दिन घडीको ब्याट्री सकिएर बन्द भएको घडी जस्तै टक्क रोकिन्छन् जिन्दगीका काँटाहरू अनि फेरि सबैले सम्झिन्छन् केही पलको लागि । श्रद्धाञ्जली र समवेदनाको लहरै चल्छ । सामाजिक सञ्जालमा फोटोको बाढी आउँछ । समाचार छाप्नेको होडबाजी चल्छ । तर एक थोपा आँसु शायदै खस्छ।
जवान हुँदासम्म यस्ता कुरा शायदै याद हुन्छ । हामीलाई सम्झिन पनि चाहँदैनौ त्यस्ता सम्बन्ध । सोच्दैनौ त्यो समय । भोलि हाम्रो पनि त्यही हाल हुनेवाला छ । हामी केवल वर्तमानमा मात्र रमाइरहेका हुन्छाैँ । धेरै व्यस्त छौँ । तर केमा? के को लागि? कसको लागि ? के पाउनु छ? कहाँ पुग्नु छ? हाम्रो अन्तिम गन्तव्य कहाँ सम्मको हो? लक्ष्य प्राप्ति के हो ? कसैलाई केही देख्ने, हेर्ने, पढ्ने अनि सोँच्ने फुर्सद नै कहाँ छ र ?
बिस्तारै हामी यति ठुलो संसारमा एक्लो हुँदै छौँ । दुखी हुँदै छौँ । निरस हुँदै छौँ । हामीलाई पनि मौनताको कोलाहलले भित्रभित्रै बिस्तारै खान सुरु गर्दैछ । अहिले बनावटी र देखावटी बन्दै गइरहेको छ मान्छे । भित्र भित्र धमिराले खाएको रुख जस्तो खोक्रो बनेको छ हाम्रो जिन्दगी अनि व्यक्तित्व । आडम्बरी खोल ओढेर बाँचेका छौ हामी । हाम्रा सम्बन्ध बजारका नक्कली फुल जस्तै बन्दै गइरहेका छन् सुगन्ध रहित रङ्गहीन ।
के हामी एक चोटि सोच्न सक्छौँ भोलिको हाम्रो भविष्यको बाँकी जीवन रु
के हामी जिउँदै हुँदा एक पलको समय तिनका नाममा समर्पित गर्न सक्छौँ? जो आज एक्लो छ । वृद्ध छ । बेसहारा छ । माया, साथ र सहानुभूतिको भोको छ । एक पटक सोचौँ त आजै देखि त्यस्ता व्यक्तिलाई एक एक जनाले २०÷२० मिनेट भेट्दा पनि कोही व्यक्ति ५÷१० वर्ष बढी बाँच्न सक्छन् । केवल हाम्रो साथ, समय र मायाले ।
निस्किने बेला रसिकलाई जानी नजानी एक दुई वाक्य भनेर निस्किएँ । जीवन क्षणिक छ । यो संसार रङ्गमञ्च हो र हामी त्यस रङ्गमञ्चमा अभिनय गर्न उभिएका कलाकार । जसको भागमा जुन भूमिका पर्छ त्यही भूमिका निर्वाह गर्नु नै हाम्रो कर्तव्य हो । त्यसैले आजदेखि मुस्कुराउनुहोस् । हरेक बिहान उठेर झ्याल बाहिर हरिया गहुँका बाला लहलह गरेको हेर्नुस् । स्वच्छ हावालाई छुनुस् । आकाशमा उड्ने हवाई जहाजसँग केही पल भए पनि उड्नुहोस् । अनि आफै मुस्कुराउनुहोस् । मन हो मनलाई आफै खुसी बनाउन प्रयास गर्नुहोस् । अनि जोस, जाँगर र तागत आफै आउन कर लाग्छ।
हुन त म हजुरको नातिनी बराबरको मान्छे हुँ । मसँग ज्ञान दिने, भाषण छाँट्ने हैसियत त छैन तर यति भन्ने दुस्साहस गरे गल्ती भए माफ गर्नुहोला ।
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१