संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन अमेरिकाको न्यु योर्क पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुने पक्का भएको छ ।
स्थानीय समय अनुसार सोमबार बिहान सवा तीन बजे भेट तय भएको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदी बसेको होटेलमा पुगेर करिब आधा घण्टा भेटवार्ता गर्ने तय भएको हो ।
केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि दुई छिमेकी समकक्षीबिच पहिलो पटक भेट हुन लागेको हो । भदौ तेस्रो साता बिम्स्टेक शिखर सम्मेलनको क्रममा २ समकक्षीबिच भेटवार्ता गर्ने तयारी गरिए पनि थाइल्याण्डको राजनीतिक उतारचढावका कारण सम्मेलन स्थगित भएको थियो।
प्रधानमन्त्री ओलीले अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि साइडलाइन भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१, ११:५९