काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सम्बन्धी सूचना प्रसारण गर्दा सामुदायिक रेडियोलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराब नेपालका तर्फबाट अध्यक्ष अर्जुन गिरीले बुझाउनुभएको ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले समुदायको सबैभन्दा नजिकको सञ्चारमाध्यमका रूपमा रहेका सामुदायिक रेडियोहरू स्वास्थ्यसम्बन्धी सूचना सम्प्रेषणका लागि सबैभन्दा प्रभावकारी हुने भएकाले मन्त्रालयले सामुदायिक रेडियोलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।
नागरिकको स्वास्थ्यको हक कार्यान्वयन गराउन सामुदायिक रेडियोले रचनात्मक भूमिका निर्वाह गर्ने आशा मन्त्रालयको रहेको पनि उहाँले बताउनुभयो । ज्ञापन पत्र बुझाउँदै अकोराबका अध्यक्ष अर्जुन गिरीले नेपालका सामुदायिक रेडियोले स्वास्थ समाज निर्माणका लागि विभिन्न प्रसारण सामाग्री प्रसारण गर्नुका साथै विभिन्न सङ्क्रमण तथा महामारीका समयमा महत्त्वपूर्ण सूचना तथा जानकारी प्रसारण गर्ने आफ्नो सामाजिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आइरहेको स्मरण गराउँदै सरकारले यो भूमिकाको कदर गर्नुपर्ने बताउनुभयो ।
ज्ञापन पत्रमा सामुदायिक रेडियोहरूलाई स्वास्थ्य सम्बन्धी जनकारी नागरिक माझ पुर्याउने माध्यमको रूपमा लिएर संघसँग मन्त्रालयले संस्थागत सहकार्य गर्ने लागि नीतिगत व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै संघद्वारा सञ्चालित देशभरिका ३६५ भन्दा बढी सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन मार्फत आम समुदायको पहुँचमा सबै किसिमका स्वास्थ्य सम्बन्धी सचेतनामूलक सूचना तथा रेडियो सामग्री उत्पादन र देश भरीका एफएम रेडियोहरू मार्फत प्रसारण गर्न मन्त्रालयले नियमित रुपमा बजेट छुट्टाउने नीतिगत व्यवस्था गर्न सम्भावित कुनै पनि स्वास्थ्य महामारीको जोखिमका बिच सूचना तथा जानकारी प्रवाह गर्न सामुदायिक रेडियोहरूलाई तयारी अवस्थामा राख्न रेडियोकर्मीलाई स्वास्थ्य रिपोर्टिङको तालिमको ब्यवस्था गर्न, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसँग जनता कार्यक्रम देशैभरिका सामुदायिक रेडियोमा प्रसारण गर्ने व्यवस्था गर्न तथा सामुदायिक रेडियो प्रसारक तथा पत्रकारको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि माग गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१, २०:०२