काठमाडौँ । निर्माण व्यवसायीहरुले सरकारले तिर्नुपर्ने बाँकी रकम उपलब्ध गराउन माग गर्दै कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर भुक्तानीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
अध्यक्ष सिंहका अनुसार राज्यबाट निर्माण व्यवसायीलाई करिब ४५ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएको आयोजना, स्थानीय अस्पताल लगायतका आयोजनाको भुक्तानी नपाएको निर्माण व्यवसायीले बताउँदै आएका छन्।
काम सम्पन्न गरे पनि भुक्तानी नपाउँदा निर्माणसम्बन्धी उद्योग नै बन्द हुने अवस्था आएको व्यवसायीहरूले गुनासो गर्दै आएका छन् । लामो समयदेखि बाँकी रकम माग्दै सरकारको ध्यानाकर्षण गराउँदै आए पनि माग सुनुवाई नभएको उनीहरूको दुखेसो छ ।
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१, १२:५०