एसियाली विकास बैंक (एडीबी)ले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको र सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत पुग्ने अनुमान गरेको छ ।
यसअघि अप्रिल २०२४ मा सार्वजनिक गरिएको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशत मात्र हुने अनुमान गरिएको थियो । कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको एडीबीले जनाएको छ।
एडीबीले सन् २०२५ मा नेपालको अर्थतन्त्रमा अझै सुधार हुने अनुमान गर्दैै आर्थिक वृद्धि ४ दशमलव९ प्रतिशत पुग्ने अनुमान गरेको छ । अप्रिलको प्रक्षेपणमा ४ दशमलव ८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान गरिएको थियो ।
सन् २०२४ मा दक्षिण एसियामा ६ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको एडीबीले सन् २०२५ मा ६ दशमलव ५ प्रतिशतको वृद्धिदर हुने जनाएको छ । दक्षिण एसियामा सबैभन्दा धेरै भारतको वृद्धिदर ७ प्रतिशत पुग्ने एडीबीको अनुमान छ । बंगलादेश, भुटान र माल्दिभ्सले समेत यस वर्ष ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गर्ने आउटलुकमा जनाइएको छ ।
यस्तै सन् २०२४ मा नेपालको मुद्रास्फीति ५ दशमलव ४ प्रतिशतमा सिमित हुने एडीबीले जनाएको छ । सन् २०२५ मा भने यो मुद्रास्फिती बढेर ५ दशमलव ५ प्रतिशत हुने अनुमान एडीबीको छ । सन् २०२३ मा नेपालको मुद्रास्फीति ७ दशमलव ७ प्रतिशत थियो ।
यसअघि हिजो अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पनि नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएकाे थियो ।
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१