काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु भएको छ । निर्वाचन आयोगले सूचना निकालेर उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई आजदेखि असोज १६ गतेसम्म दल दर्ता गर्ने समयावधि दिएको हो ।
आयोगका अनुसार दलहरूले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा काठमाडौँको कान्तिपथस्थित कार्यालयमा निवेदन दिनसक्ने छन्।
स्थानीय तहमा रिक्त भएका ४० जना जनप्रतिनिधिका लागि विभिन्न स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो ।
जसमा गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ जना छन् । यस्तै २ जना जिल्ला समन्वय समितिका प्रमुखका लागि पनि उपनिर्वाचन हुने छ । जिल्ला समन्वय प्रमुखका लागि भने पालिकाका जनप्रतिनिधिहरुले मतदान गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१, ११:०१