काठमाडौँ । आज दिउँसो सातै प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
देशभर मनसुन सक्रिय भएको तथा भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले हिजोदेखि नै देशका विभिन्न ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यसकै प्रभावले आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कणर्ाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीकोसमेतको सम्भावना रहेको छ । राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको मौसमविद् झाको भनाइ छ ।
उहाँका अनुसार भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान गरिएको छ ।
पर्सि आइतबार रातिदेखि भने कम पानी पर्ने देखिएको उहाँको भनाइ छ ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाका अनुसार गत १२ घण्टामा सप्तरीको बरमझीयामा १ सय १७ दशमलव २ मिलिमिटर पानी परेको छ । झापाको केचनामा १०२ दशमलव ६ मिलिमिटर र विराटनगर विमानस्थलमा ९१ मिलिमिटर पानी परेकाले त्यस क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढी आएको छ ।
आज, भोलि र पर्सि नारायणी नदी देवघाट, कन्काई नदी मैनाचुली, कमला नदी वेलसोत, बाग्मती पधेरादोभान, पूर्वी राप्ती रजैया, पश्चिम राप्ती कुसुम, बबई चेपाङ नदी र यसका सहायक नदीहरुमा जलसतह खतरा तह आसपास रहने तथा केहीमा खतरा तह पार गर्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१, ०८:३१