प्रधानमन्त्री केपी शर्मा ओलीले उनले मानिस र पृथ्वी दुवै जलवायु प्रकोपको संकटमा उभिएको बताउनुभएको छ ।
संयुक्त राष्ट्र संघको ७९औं महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धनी र गरिबबीचको भिन्नता, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशका क्षेत्रमा अहिलेको जस्तो अवस्था यसअघि कहिल्यै नभएको भन्दै उहाँले अहिले संसार इतिहासकै महत्त्वपूर्ण क्षणमा पुगेको बताउनुभयो।
भूराजनीतिक प्रतिद्वन्द्वीता फेरि उब्जिएकोप्रति प्रधानमन्त्री ओलीले दुख ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,– ‘हतियारहरूको आदान–प्रदानका साथै सैन्य खर्च पनि बढिरहेको छ,आणविक द्वन्द्वको अवस्था पहिलेभन्दा ठूलो देखिन्छ ।’
प्रधानमन्त्री ओलीले उदारीकरण र भूमण्डलीकरणबाट पाउनुपर्ने फाइदा मानव जगतले लिइनसक्दै राष्ट्रवाद र संरक्षणवादको पुनः उदय भएको बताउनुभयो । उहाँले थप्नुभयो,– ‘औद्योगीकरण र आधुनिकीकरणको ३ सय वर्षको यात्रापछि पनि २१औं शताब्दीको तथाकथित हाम्रो सभ्य संसारमा धन र समृद्धि धेरैजसो उत्तरी गोलार्धका मुलुकहरूको हातमा केन्द्रित भएको तथा दक्षिण गोलार्धको पनि विशेषगरी विश्वका कम विकसित मुलुकहरूमा गरिबी र विपन्नता अत्यधिक केन्द्रित रहेको कुरा गहिरो चिन्ताको विषय हो ।’
सामूहिक इच्छाशक्ति र एकताबद्ध भएर मात्रै गलत कुरालाई हटाएर सबैका लागि दिगो शान्ति र साझा समृद्धिको युगमा प्रवेश गर्न सकिने उहाँले आफ्नो संबोधनमा उल्लेख गर्नुभयो । समिट अफ द फ्युचर मार्फत वर्तमान र भावी पुस्ताका लागि सुरक्षित, न्यायपूर्ण र दिगो विश्व निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई नेपालले फेरि जोड दिएको प्रधानमन्त्रीले स्मरण गराउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१, १२:१८