काठमाडौँ । संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल बहुजाति, बहुभाषी र संस्कृति लगायतमा धनी भएकोले ती कुराहरूको संरक्षण र प्रबर्द्धनमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा साँस्कृतिक मञ्च नेपालको आयोजनामा शुक्रवार काठमाडौँको नाँचघरमा आयोजित कार्यक्रमलाई उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
नेपालका सबैजसो क्षेत्रमा मौलिक परम्परा, रहनसहन, भेषभुषामा विविधता रहेको बताउँदै लोपोन्मुख अवस्थामा पुगेका त्यस्ता रैथाने साँस्कृतिक कुराहरूलाई जोगाउन सबैजना एक हुनुपर्ने बताउनुभयो । त्यसका लागि आगामी दिनमा मन्त्रालयले यथेष्ट बजेटको व्यवस्था गर्नेसमेत उहाँको भनाइ थियो ।
बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सबै प्रदेशमा लुकेर रहेका र लोप हुने अवस्थामा पुगेका संस्कृतिको जगेर्ना गर्न सबै प्रदेश सरकारले नीति बनाएर अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा देशभरका सातै प्रदेशबाट आएका सहभागीहरूले लोपोन्मुख, रैथाने, स्थानीय मौलिक संस्कृतिको प्रदर्शन गरेका थिए । सांस्कृतिक मञ्च नेपालका नन्द देवकोटाले पर्यटन नै देश विकासको आधार बन्न सक्ने आधार भएकाले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
संस्कृति बिना कुनै पनि कुराको विकास सम्भव नहुने भएकाले पनि यस्ता खाले कार्यक्रमले एकातिर रैथाने कुराको संरक्षण हुने र अर्कोतिर त्यसलाई जीविकोपार्जनसँग जोडेर पर्यटन विकासलाई अगाडि बढाउन सकिने सम्भावनाका लागि यो कार्यक्रम आयोजना गरिएको देवकोटाको भनाइ छ ।
कार्यक्रममा बझाङ र दार्चुलामा प्रचलित हुड्केउली छलिया नाँच र भारीखेल, सोलुखुम्बु जिल्लामा नाँचिने सुलिङ सामा राइलो तोशी नाँच, जाजरकोटको चर्चित खाँडो नाँच, जनकपुरमा देखाइने पमरिया र झरीझरी नाँच, रूकुम पश्चिमको सिंगारू नाँच, म्याग्दीको पुन समुदायको नाँच, रोल्पा जिल्लाको पैँसेरी नाँच, मधेस प्रदेशमा प्रचलित होली नाँच प्रस्तुति देखाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१, २२:३४