काठमाडौँ ।तीन दिनदेखिको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझ ५ बजेसम्ममा ६६ जनाको मृत्यु भएको हो । यस्तै ७९ जना बेपत्ता भएका छन् भने ३५ जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता, डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।
उहाँकाअनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो । यस्तै, पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।
ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ झापामा ४, दोलखामा ३ जनासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उहाँले बताउनुभयो । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।
नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ। (राससबाट)
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१, २०:१६