काठमाडौँ । आजदेखि पानी पर्ने क्रम कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबारदेखि सक्रिय भएको मनसुन केही कमजोर भएकाले आजदेखि ठुलो पानी पर्ने क्रम कम हुँदै जाने महाशाखाका मौसमविद् रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली भई कोशी, बागमती र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
यस्तै राति देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लगातारको झरीका कारण देशभरका ७७५ सडक खण्डमध्ये ६४ वटा पूर्ण रूपमा बन्द भएको तथा ३८३ वटामा एकतर्फी गाडी गुडिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१, ०९:३१