काठमाडाैँ । सामुदायिक रेडियोहरूको विश्व सङ्गठन मार्क एसिया प्यासिफिकका अध्यक्ष रामनाथ भाटले नेपालका सामुदायिक रेडियोले उदाहरणीय र प्रशंसनीय कार्य गरेकोले विश्वलाई नै सिकाइको केन्द्र नेपाल भएको बताउनुभएको छ । त्यसमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले सिकाइको अवसर दिनुपर्ने उहाँको भनाइ छ ।
नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष भाटसँग सामुदायिक रेडियो प्रसारक संघले गरेको अन्तरकृयामा उहाँले नेपालका सामुदायिक रेडियोलाई सूचना प्रविधिको वदलिँदो युगअनुसार परिवर्तन गर्दै लैजाने सामुदायिक रेडियो प्रसारक संघले रणनीति बनाएको थाहा पाउँदा खुसी लागेको बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले प्रविधिको नयाँ विकासको प्रयोग गर्दै दक्षिण एसियाका सामुदायिक रेडियोहरूले आपसमा साझेदारी गरेर अगाडी बढ्नुपर्ने र त्यसमा मार्क एसिया प्यासिफिकले संयोजन गर्न सक्ने बताउनुभयो ।
गिरीले अहिले रेडियोहरूले आर्थिक सङ्कट भोगिरहेको बेलामा मार्क र अकोराब मिलेर अन्तर्राष्ट्रिय साझेदारीको काम गर्नुपर्ने बताउनुभयो ।
मार्क एसिया प्यासिफिकका उपाध्यक्ष सुवास खतिवडाले दक्षिण एसियाका सामुदायिक रेडियोको साझा समस्याको पहिचान गर्ने, सङ्कटमा रहेका रेडियोलाई बलियो बनाउनको लागि नीतिगत सुधारका लागि संयुक्त पहलकदमी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मार्क एसिया प्यासिफिकको कार्यालयका निर्देशक सुमन बस्नेत, सामुदायिक रेडियो प्रसारक सङ्घका पदाधिकारी लगायत सामुदायिक रेडियोकर्मीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१, २०:१०