काठमाडौँ । वैदिक कालमा ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैचारिक द्वन्द्वलाई आधार बनाएर लेखिएको उपन्यास युगसन्धि लोकार्पण गरिएको छ । विजय चालिसेद्वारा लिखित उपन्यास काठमडौँमा मङ्गलबार एक समारोहकाबीच लोकार्पण गरिएको हो । उपन्यासमा मलतः आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष एवं रक्त शुद्धता र रक्त सम्मीलन पक्षधरहरूबीचको द्वन्द्व समेटिएको प्रकाशक परिचय पब्लिकेसनका नवीन खतिवडाले जानकारी दिनुभयो ।
उपन्यासमा ब्रम्ह शक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबीच समानताका साथै आर्य र अनार्यबीचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुनसक्छ भनी वैदिक कालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको उहाँले बताउनुभयो ।
लेखक चालिसेले वैदिक कालका द्वन्द्वहरूलाई अध्ययन गरेर निकालेको निष्कर्षका आधारमा उपन्यास तयार पारेको बताउनुभयो ।
पुस्तक लोकार्पण समारोहमा समीक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभई पराजयको पनि कथा भएको बताए । उनले युगसन्धिले प्राचीन समयको जातीय र वर्गीय विभेदलाई देखाएको टिप्पणी गर्नुभयो ।
यसैगरी समीक्षक डा ज्ञानु पाण्डेले युगसन्धि उपन्यासले उठान गरेको विषयवस्तुभन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौँ गम्भीर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको बताउनुभयो । वैदिक कालको कथालाई लैंगिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको उहाँको भनाइ छ ।
कार्यक्रममा डा. ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको वर्तमान समयमा युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाएको टिप्पणी गर्नुभयो ।
लोकार्पण समारोहमा समीक्षक युवराज मैनाली र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल लगायतले लेखकलाई शुभकामना दिएका थिए । उपन्यासको मूल्य ५५० रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१, ११:२७