काठमाडौँ । असोज ११ र १२ गतेको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २३६ पुगेको छ । बाढी पहिरोमा परी ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो। बाढी पहिरोमा अझै १९ जना हराइरहेका छन् भने १६५ जना घाइते भएका छन् ।
बाढी पहिरो प्रभावित क्षेत्रबाट करिब १७ हजार जनाको उद्धार गरिएको छ । बाढी पहिरोबाट सडक, पुल लगायतका संरचनाहरूमा अरबौँ रुपैयाँको क्षति पुगेको छ । यस पटकको बाढी पहिरोले क्षति पुर्याएका सडक र पुल मर्मत तथा पुनर्निर्माणका लागि २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक आङ्कलन गरिएको सरकारले जनाएको छ ।
बाढी पहिरोमा परी ४ हजार ६६७ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा ५ हजार ३१० वटा घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।
बाढी पहिरोबाट १६ हजार २४३ परिवार बाढी पहिरोबाट प्रभावित भएको र १० हजार ८०७ जना भने विस्थापित नै हुनुपरेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।
यस्तै ११ वटा जलविद्युत आयोजना, ६ वटा सिँचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१, १०:२३