काभ्रे । तपाईँको घरमा पुराना तर लगाउन मिल्ने कपडा छन् ? छन् भने नफाल्नुस् । त्यस्तो कपडा अरु धेरैका लागि काम लाग्न सक्छ ।
पुराना तर नफाटेका कपडा धोएर चिटिक्क पारेपछि कपडा बैँकमा बुझाईदिनुस् । काभ्रेको बनेपामा त्यस्तै कपडा बैँकको स्थापना भएपछि कपडा ल्याउने र लैजानेको भीड लाग्न थालेको छ ।
काभ्रेको बनेपामा असहाय तथा विपन्न वर्गलाई लक्षित गरी जिल्लामै पहिलोपटक निःशुल्क कपडा बैँक सञ्चालन गरिएको हो ।
नवजीवन परोपकार सेवा समाजका आजीवन सदस्य सर्वश्री अधिकारी विभिन्न समस्यामा परेको तथा विपन्न परिवारलाई समस्या नहोस् भनेर कपडा बैँक स्थापना गरेको बताउनुहन्छ ।
अधिकारीले भन्नुभयो, ‘जसलाई समस्या हुन्छ, बाढी, पहिरोबाट समस्यामा परेका वा विपन्न समुदायका व्यक्तिहरुलाई सजिलो होस् भनेर यो सुरु गरिएको हो ।’
स्थानीय सुमित्रा न्यौपानेले दराजमा थन्किएका पुराना कपडा धोएर चिटिक्क पार्नुभयो । एक भारी सफा कपडा बैँकमा बुझाएपछि आफूसँग भएको कपडाको सदुपयोग हुनुका साथै अरुलाई सहयोग गर्न पाएकोमा खुसी लागेको उहाँले बताउनुभयो ।
बैँकमा आफूलाई लगाउन रहर पुगेका जुनसुकै कपडा पनि लगेर छाड्न सकिने मात्रै होइन आवश्यक र मन परेको कपडा निःशुल्क लैजान पनि सकिन्छ । यसले आर्थिक रुपमा विपन्न परिवारलाई ठूलै राहत मिलेको सञ्चालकहरु बताउँछन् ।
कपडा बैँकमा ल्याईएका फाटेका कपडाको सिरक, डस्ना बनाएर गरिब तथा असहायलाई सहयोग गर्ने सोंच रहेको परोपकार सेवा समाजका आजीवन सदस्य सर्वश्री अधिकारी बताउनुहुन्छ ।
कपडा बैँकले हुने र नहुने बीचमा पुलको काम गरेको छ । यसले हुनेसँग धेरै हुने तर प्रयोगमा नआउने र नहुनेले कपडा लगाउनै नपाउने अवस्थाको अन्य गर्न केहि सहयोग पुर्याउने विश्वास गरिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६, १०:२३