काठमाडौँ । त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा आउँदो मङ्सिर १२ देखि १५ गतेसम्म एसियाली जनसङ्ख्या सम्मेलन हुने भएको छ ।
सम्मेलनमा ५० भन्दा बढी देशका ८ सय प्रतिनिधि सहभागी हुने विभागका प्रमुख प्राडा योगेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
आज पत्रकार सम्मेलनमा बोल्दै उहाँले यो सम्मेलन नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउनुभयो ।
सम्मेलनमा एसियाका विभिन्न देशका जनसङ्ख्या विज्ञले १७ वटा विषयका ४ सय न्दा बढी कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
जनसङ्ख्या संरचनामा भइरहेको स्थानान्तरणले विश्वसँगै नेपालले पनि विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिका बारेमा पुनर्विचार गर्न सरकारलाई पर्याप्त पृष्ठपोषण प्रदान गरिने प्राडा गुरुङले बताउनुभयो ।
चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सम्मेलनमा सहभागी हुन दर्ता शुल्क वापत ७ हजार, १० हजार र १३ हजार ताेकिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१, २०:०८