काठमाडौँ । पडकास्ट सम्बन्धि जानकारी समेटिएको नेपाली भाषाको पुस्तक सार्वजनिक भएको छ । जर्मन लेखक ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ सम्बन्धी पुस्तक सेन्टर फर मिडिया रिसर्च, (सीएमआर) नेपाल जर्नलिजम एकेडेमीले प्रकाशन गरेको हो।
एकेडेमीको बालकुमारी स्थित कार्यालयमा आयोजित कार्यक्रममा जर्मन दूतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल, लेखिका हेगडर्न, एकेडेमीका निर्देशक उज्ज्वल आचार्य र सीएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
पुस्तक जर्मनीस्थित इन्टरलिङ्क एकेडेमीको सहकार्यमा एकेडेमीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको हो । पुस्तकको नेपाली अनुवाद एकेडमीका पडकास्टिङ प्रशिक्षक श्रीराम पौडेल र रबिराज बरालले तथा सम्पादन उज्जवल आचार्यले गरेको एकेडेमीले जनाएको छ ।
पुस्तक विमोचन गर्दै नियोग उपप्रमुख साइडेलले लोकतन्त्रको विकासका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको र त्यसका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि जरुरी रहेको बताउनुभयो ।
अहिले मिथ्या सूचना फैलिरहेको अवस्थामा पत्रकारिता र पत्रकारको महत्त्व झनै बढेको उल्लेख गर्दै उहाँले प्रविधिले ल्याएको चुनौतीको सामना गर्न पत्रकारितासम्बन्धी तालिमहरू अति आवश्यक रहेकोमा जोड दिनुभयो ।
लेखिका हेगडर्नले पकडकास्टिङको महत्त्व र यसका आधारभूत कुराबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा जर्नलिजम एकेडेमीले पत्रकारितासम्बन्धी उच्च गुणस्तरका तालिमहरू दिइरहेको र अहिलेसम्म १४६ जना पत्रकारलाई यस्तो तालिम दिइसकेको जानकारी दिनुभयो। यसका साथै २६ जना पत्रकारलाई प्रशिक्षण प्रशिक्षक तालिम दिइएको पनि उहाँले जानकारी दिनुभयो ।
सीएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले सीएमआर नेपालले मिडिया अनुसन्धान, मिडिया नीति समीक्षा एवं सरोकारवालाहरूसँग छलफल गर्दै आएकोमा पछिल्लो समय मिथ्या सूचनाविरुद्ध अभियान सञ्चालन र मूलधारको मिडिया र पत्रकारलाई सहयोग एवं क्षमता अभिवृद्धिको कार्यक्रमलाई जोड दिएको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१, १५:५९