काठमाडौँ । सङ्घीय सरकारले मनसुनजन्य विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरेको छ ।
गृहमन्त्री रमेश लेखकले स्थानीय तहले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने दाबी गर्दै प्रभावितको नाम पहिचान गरी जतिसक्दो छिटो उपलब्ध गराउन स्थानीय सरकारहरूलाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘ स्थानीय सरकारले चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर पठाइदियो भने पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउन सक्छौँ ।’
बाढी र पहिरोका कारण जनधनको ठुलो क्षति भएको प्रति सरकार गम्भीर भएर काममा लागेको भन्दै गृहमन्त्री लेखकले विपद्बाट मृत्यु भएकाका परिवारलाई राहत बापत प्रतिपरिवार दुई लाख रुपैयाँका दरले सम्बन्धित जिल्लाहरूमा पठाइसकेको बताउनुभयो ।
घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गर्नुका साथै धेरै नोक्सानी भएका ठाउँलाई सङ्कटग्रस्त क्षेत्र तोकेर उद्धार, राहत, पुनः निर्माण, पुनर्स्थापनामा सरकार केन्द्रित भएको उहाँले दाबी गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१, १८:११