विश्व शिक्षक दिवसको अवसर पारेर सल्यानका शिक्षक मोहनसिंह थापाबारे पुस्तक लोकार्पण गरिएको छ । सल्यानमा आयोजित एक कार्यक्रममा ‘मोहन सर : व्यक्ति र कृति’ स्मृतिग्रन्थ नामक पुस्तक कर्णाली प्रदेशका मन्त्री सुरेश अधिकारीलगायतले विमोचन गर्नुभएको हो ।
पुस्तकमा ६१ वर्षको उमेरमै दिवंगत भएका मोहन सरबारे ४५ जनाका स्मृति तथा मोहन सरका अप्रकाशित डायरी पनि संगृहीत छन् । आजीवन शिक्षण कर्म गरेर पनि स्थायित्व नखोजेका मोहन सर घरमा बिहान सबेरैदेखि राति अबेरसम्म निःशुल्क पढाउनुहुन्थ्यो ।
२०२८ सालको एलएसलीमा जिल्ला प्रथम भएका निम्नवर्गीय परिवारका मोहन सर राजनीतिक पहुँच नपुग्नाले छात्रवृत्तिमा थप पढ्न पाउनुभएन । उहाँको कोटा राजनीतिक पहुँचदारले पाएका थिए ।
आफ्नोऔपचारिक शैक्षिक योग्यताभन्दा माथि उहाँले सल्यान क्याम्पसमा स्नातक तहमा लामो समय अध्यापन गराउनुभयो । सल्यानको पहिलो विद्यालय त्रिभुवन जन माविमा १८ वर्ष पढाए पनि 'सर्टिफिकेट नभएको' भन्दै उहाँ रित्तै हात बिदा हुनुभएकाे थियो । २०४९ सालमा सल्यानमा पहिलो पटक सल्यान क्याम्पस खुलेपछि उनले सर्टिफिकेटविनै गणित र अर्थशास्त्र पढाउनुभयो । गाउँगाउँबाट सदरमुकाम पढ्न आउनेलाई उहाँ निःशुल्क डेराबास दिन्थे । आजीवन अविवाहित मोहन सरलाई सल्यानी जनता तथा हजारौँ शिष्य 'असल गुरू' मान्ने गरेका छन् ।
पुस्तकलाई मोहन सरका विद्यार्थी प्रवीण भण्डारी र विमल आचार्यले स्वयंसेवी रुपमा सम्पादन संयोजन गरेका हुन् भने प्रकाशन खर्च मोहन सरका भाइ भूपेन्द्र र बहिनी सोबिताले व्यहोर्नु भएको थियो । पुस्तक सबैलाई निःशुल्क वितरण गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१, १६:५१