काठमाडाैँ । बडादशैँको सातौँ दिन आज शुभ साइतको प्रतीकका रूपमा फूलपाती भित्र्याइँदैछ । प्रत्येकआश्विन शुक्ल सप्तमीका दिन नवपालुवालाई फूलपातीका रूपमा भित्र्याउने गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । फूलपाती भित्राउन साइत हेर्न नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले सीआईएनसँग बताउनुभयो ।
काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँ घरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले जीवनपुरबाट काठमाडौँको जमलसम्म ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुरुज्यूका पल्टन, ब्यान्ड बाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।
सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने परम्परा छ ।
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१, ०९:११