काठमाडाैँ । बडादशैँको मुख्य दिन आज मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ । नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक मानी रातो टीका एवं समृद्धिको प्रतीक मानी जमरा लगाउने गरिन्छ ।
दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाउने प्रचलन रही आएको हो ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ३६ मिनेटको साइत उत्तम रहेको जनाएको छ । तर, विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरे पछि दिनै भरी आफ्नो अनुकूल समयमा टीका लगाउन सकिने उहाँले सीआईएनसँग बताउनुभयो ।
उहाँले भन्नुभयो–‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ ।’
आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका दिनसम्मै टीका लगाउने प्रचलन छ । कतै कतै भने आजको दिन मात्र टीका लगाउने गरिन्छ ।
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१, ०७:०१