काठमाडाैँ । असोज २६ गते (हिजो) बाट मनसुन बाहिरिएसँगै देशभर पश्चिमी वायुको प्रभाव फैलिएको छ। योसँगै देशमा मनसुनी वायुको प्रभाव अन्त्य भइ नेपालमा बर्खा याम औपचारिक रुपमा अन्त्य भएको छ ।
अब 'पोस्ट मनसुन' सुरु भएको माैसम पुर्वानुमान महाशाखाका वरिष्ठ माैसमविद् मीनकुमार अर्यालले सीआईएनसँग बताउनुभयो । यो याममा खासै पानी नपर्ने तर हल्का, फाट्टफुट्ट पानी पर्ने सम्भावना भने रहने अर्यालले बताउनुभयो । 'पोस्ट मनसुन' को याम नोभेम्बरसम्म (अबका करिब डेढ महिना) कायम रहन्छ भने डिसेम्बरदेखि विन्टर अर्थात् हिउँद याम सुरु हुन्छ।
यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण माैसमविदले जनाएका छन् ।
जलवायु परिवर्तनको असरले नेपालमा मनसुन भित्रने र बाहिरिने सरदर मितिभन्दा ढिलो हुने गरेको मौसमविदहरू बताउँछन् । नेपालमा यो वर्ष १ सय २४ दिनसम्म मनसुन रह्यो । नेपालमा यस वर्षको मनसुन गत जुन १० तारिखमा पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो ।
महाशाखाका अनुसार अहिले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोसी प्रदेश, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव परिरहेको छ। यी क्षेत्रमा स्थानीय वायुको पनि आंशिक प्रभाव परिरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१, ०७:५३