काठमाडाैँ । सातौँ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदै छ । प्रतियोगितामा दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्तर्गतका नेपाल, भारत, मालदिभ्स, पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेशका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्नेछन् । खेल साँझ साढे ५ बजेपछि दशरथ रङ्गशालामा सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल भोली (शुक्रवार) भुटानसँग खेल्नेछ । यो खेल नेपालकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा'ले भने खेल्न नपाउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भुटानसँगको खेल फिफाको ‘विन्डो’ भित्र नपरेका कारण यो खेल साम्बाले खेल्न नपाउने हुनुभएको हो ।
प्रतिस्पर्धी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साबिक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपाल, भुटान, श्रीलङ्का र मालदिभ्स रहेका छन् । सातै टोलीले प्रतियोगिताको उपाधि जित्ने दाबी गरे पनि नेपाल, बङ्गलादेश र भारतलाई मुख्य दाबेदार रहेको खेल विश्लेषकहरूले बताएका छन् ।
नेपाल पाँच पटकसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेको छैन । २ वर्ष अघि भएको प्रतियोगिताको फाइनलमा बङ्गलादेशसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भएको नेपालले यस पटक उपाधिको खडेरी तोड्ने प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एञ्जिला तुम्बापोको दाबी छ ।
तर नेपालले ८ महिना पछि मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो भने करिब २ हप्ताको मात्र तयारी गर्न पाएको छ । तैपनि तयारी राम्रो भएको र टिम राम्रो बनेको प्रशिक्षक राजेन्द्र तामाङको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१, ०७:३४