काठमाडौँ । नेपालका सामुदायिक रेडियोका लागि मिडिया र सूचना साक्षरतासम्बन्धी मार्गनिर्देशिकाबारे आज छलफल भएको छ ।
मार्गनिर्देशिकाको मस्यौदा प्रस्तुत गर्दै त्यसमाथि विज्ञ तथा सरोकारवालाका प्रतिनिधिको सुझाव लिएर मार्गनिर्देशिकालाई अन्तिम रूप दिइएको हो ।
पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सामुदायिक रेडियोले सत्यतथ्य, निष्पक्ष समाचार तथा प्रसारण सामग्री उत्पादनका लागि सहज हुने गरी मार्गनिर्देशीका तयार पारिएको सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीेले बताउनुभयो ।
युनेस्को काठमाडौँको सहयोग र सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालको प्राविधिक सहयोगमा मार्गनिर्देशीकाको मस्यौदा तयार पारिएको हो ।
मस्यौदा प्रस्तुत गर्दै सीएमआर जर्नालिजम अकाडेमीका निर्देशक उज्वल आचार्यले अन्य क्षेत्रमा जस्तै सञ्चार क्षेत्रमा पनि प्रविधिको विकाससँगै अवसर र चुनौति एकसाथ सिर्जना भएको बताउनुभयो ।
यस्तो अवस्थामा नेपालका साुमदायिक रेडियोले सूचना र साक्षरता एकसाथ प्रदान गर्नुपर्ने उहाँको भनाइ थियो ।
मार्गनिर्देशीकामा सामुदायिक रेडियोले समाचार र सामग्री निर्माण गर्दा सूचना, साक्षरता, तथ्य जाँचलगायत सिद्धान्त अवलम्बन गर्ने अभ्यास गर्नुपर्ने, स्रोताहरूमा मिडिया र सूचना साक्षरता बढाउनका लागि कार्यक्रम निर्माण र प्रसारण गर्ने प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिइएको छ ।
सामुदायिक रेडियोका सामग्रीका लागि अभ्यास अन्तर्गत समाचार तथा कार्यक्रम निर्माणका क्रममा सामग्रीको तथ्यजाँच गरी सत्यतथ्य सूचना प्रवाह गर्ने, भूल, त्रुटि, सच्याउने, उपलब्ध डिजिटल प्लेटफर्महरूमार्फत आफ्ना कार्यक्रमहरू प्रसारण गर्ने, भण्डारण गर्ने र स्रोताहरूसँग प्रत्यक्ष सम्वाद गर्ने र सम्पर्कमा रहनेल गायतका विषय पनि निर्देशिकाको मस्यौदामा छन् ।
सामुदायिक रेडियोमार्फत मिडिया र सूचना साक्षरता अभिवृद्धि अन्तर्गत सामुदायिक रेडियोहरूले समुदायमा मिडिया र सूचना साक्षरताका मूल सन्देशहरू प्रवाह गर्ने जनचेतनामूलक कार्यक्रम र लोककल्याणकारी विज्ञापनको निर्माण र प्रसारणमा जोड दिँदै मिथ्या सूचना पहिचान गर्ने तरिकाबारे नियमित कार्यक्रम, डिजिटल सुरक्षा र साइबर अपराधबारे सचेतना जगाउने कार्यक्रम, सोसल मिडियाको सुरक्षित प्रयोगसम्बन्धी सामग्री समेटिएका कार्यक्रम प्रसारण गर्ने उल्लेख छ ।
छलफल कार्यक्रममा नेपाल चेकका प्रमुख दीपक अधिकारीले अब सामुदायिक रेडियोबाट प्रसारण हुने समाचारको तथ्य जाँच गर्नुपर्ने बताउनुभयो ।
रेडियोबाट विभिन्न विषयमा अतिथिले बोल्ने विषयलाई नै अन्तिम सत्य मान्ने चलन कायम रहेकाले यस विषयमा पनि तथ्य जाँच आवश्यक रहेको उहाँको भनाइ थियो ।
टेक जोर्नो फोरमका अध्यक्ष उमेश पौडेलले निर्वाचनका समयमा सामुदायिक रेडियोले पनि पक्षपातपूर्ण सामग्री प्रसारण गर्ने गरेको दाबी गर्दै यसतर्फ पनि सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
बीबीसी मिडिया एक्सनका विकास राईले सञ्चार गृह तथा सञ्चारकर्मीको क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा रेडियो नेपालका उपनिर्देशक जनार्दन बिष्टले सञ्चार र स्रोतालाई लक्षित गरि ल्याइएको मार्गनिर्देशीका उचित रहेको बताउनुभयो । युनेस्कोका सञ्चार विभाग प्रमुख निर्जना शर्माले सूचना प्रवाह गर्ने सञ्चारकर्मी नै क्षमताको अभावमा प्रभावित भइरहेको बताउनुभयो ।
सीआईएनका प्रबन्धक दीपक आचार्यले विश्वव्यापी सञ्चार तथा सूचना साक्षरता सप्ताहको अवसर पारेर मार्गनिर्देशिका तयारका लागि सामुदायिक रेडियोकर्मीहरूसँग भच्र्यूअल छलफल तथा प्रत्यक्ष छलफल गरे सबै सरोकारवालाको सुझाव समेटेर मार्गनिर्देशिका तयार पारिएको र यसमा आएका सुझावहरुलाई समेट्दै परिमार्जन गर्दै जाने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१, १९:५५