काठमाडाैँ । साफ च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि नेपालले आज (बुधबार) बङ्गलादेशसँग खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ साढे ६ बजेपछि शुरु हुनेछ ।
नेपालले साफ च्याम्पियनसिप महिला फुटबलको फाइनल खेल्न लागेको यो सातौँ पटक हो । यसअघिका ६ वटै फाइनलमा नेपाल पराजित भएको छ । प्रतियोगिताको अघिल्लो संस्करणमा नेपाल बङ्गलादेशसँगै पराजित भएर उपविजेतामै चित्त बुझाउनुपरेको थियो ।
दशरथ रंगशालामा भएको सो फाइनलमा नेपाल ३–१ गोलले पराजित भएको थियो।
साफका ६ वटासहित नेपाली महिला टोलीले समग्रमा ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको भए पनि उपाधि भने जित्न सकेको छैन ।
प्रतियोगिताको सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टीमा हराउँदै फाइनल पुगेको हो । बङ्गलादेशले भुटानलाई हराएको थियो ।
नेपालकी फरवार्ड रेखा पौडेलले आजको खेल खेल्न पाउनुहुने छैन । सेमिफाइनलमा रातो कार्ड पाएका कारण उहाँले आजको खेल गुमाउनु हुने भएको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१, ११:१८