म्याग्दी । करिब पाँच हजार मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरलेकमा छ प्रकाश पुनको भेडी गोठ । गोठको वरिपरि भेडा बाख्राका बथान छन् । बथानको छेउछाउ चार वटा ‘भोटे कुकुर’ छन्, जसलाई भेडाको हेरालुको जिम्मा दिइएको छ ।
अन्तिम मानव बस्ती पाउद्वारदेखि एक दिनको पैदल यात्रामा बल्ल पुगिने यहाँको भेडी गोठको सुरक्षाको सम्पूर्ण जिम्मेवारी यीनै कुकुरको रहेको भेडा पालक पुनले बताउनुभयो । २ जना मिलेर सञ्चालन गरिरहेको गोठमा रहेका करिब २ सय भेडा बाख्राको हेरचाह कुकुरहरूले नै गरिरहेको पुन बताउनुहुन्छ । ‘हामीलाई भेडा बाख्रा वन लैजाने र ल्याउने मात्र जान्छौँ जङ्गली जनावरहरूबाट बचाउने सबै कुकुर नै हुन् ।’ उहाँले भन्नुभयो– रातको समयमा हामी गोठमा सुत्छौँ कुकुरलाई भेडासँगै छोड्ने हो उनीहरुले नै वरिपरिबाट बसेर सुरक्षा गरिरहेको हुन्छ ।
धवलागिरि गाउँपालिका–५ मल्कबाङबाट एक दिनमा मुस्किलले पुगिने पुतलीडाँडाभन्दा माथिको जङ्गलमा रहेको हिमबहादुर छन्त्यालको भेडी गोठमा पनि सुरक्षाको सम्पूर्ण जिम्मेवारी पाँच वटा भोटे कुकुरको रहेको हिमबहादुरले बताउनुभयो ।
करिब चार सय भेडा बाख्रा रहेको छन्त्यालको गोठमा दुई जना हेरालु छन् तर उनीहरूको जिम्मेवारी भेडा बाख्रालाई चरनमा लगाउने र गोठको सामान ओसारपसार गर्ने मात्रै हो । गोठमा रहेका भेडा बाख्रालाई जङ्गली जनावरबाट बचाउने र गोठका हेरालुहरूको समेत सुरक्षाको जिम्मेवारी गोठमा रहेका कुकुरहरूकै रहेको छन्त्याल बताउनुहुन्छ ।
चरन क्षेत्रदेखि रातमा सिङ्गो गोठको सुरक्षाका लागि कुकुर नै पहिलो रक्षकको रूपमा रहेको छन्त्यालको अनुभव छ । कुकुर भएको समयमा अहिलेसम्म गोठमै बाघ र चितुवा आउन सकेका छैनन् छन्त्यालले भन्नुहुन्छ ।‘कहिलेकाहीँ कुकुरको आँखा छलेर चरन क्षेत्रमा भने आक्रमण हुने गरेको छ, भेडी गोठको रक्षक भनेकै कुकुर हो, कुकुरकै सहाराले गोठमा बस्ने आँट आउँछ’ छन्त्यालले भन्नुभयो । भेडी गोठमा रहेका भेडा बाख्रासँगै कुकुरहरू समेत चरन क्षेत्रमा जाने गर्छन् ।
घरपालुवा गुनिलो जनावरको रूपमा चिनिने कुकुर केही वर्ष अघिसम्म ग्रामीण भेगका घरघरमा पाल्ने गर्दथे अहिले समाज विकाससँगै गाउँघरमा समेत कुकुर पालन हराउँदै जान थाले पनि अनकन्टार जङ्गल र हिमालको फेदीमै पुगेर गरिने भेडा बाख्रा पालनका लागि भने कुकुर अत्यन्तै महत्त्वपूर्ण र उपयोगी रहेको भेडा पालकहरू बताउँछन् ।
एउटा कुकुरलाई १५ देखि ६० हजार रुपैयाँसम्ममा खरिद गरेको सञ्चालकहरू बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१, १७:१४