काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मनिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
धानलगायतका बाली पाकेर भित्र्याउँदै गरेका किसान, यात्रा गर्दै गरेका नागरिकले विशेष सावधानी अपनाउनुपर्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार भोलिदेखि भने मौसममा क्रमिक रुपमा सुधार हुँदै जानेछ ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१, ०९:११