काठमाडौँ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि यही कात्तिकको अन्तिममा निर्वाचन आचारसंहिता लागु हुने भएको छ ।
आचारसंहिता लागु गर्ने बारेमा निणर्य गर्न त्यसअघि २५ वा २६ गते निर्वाचन आयोगको बैठक बस्नेछ । २६ गते उपनिर्वाचनका लागि खटिने निर्वाचन अधिकृतलाई नियुक्ति पत्र दिने तयारी छ ।
३० गते ४४ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले सीआईएनसँग बताउनुभयो । स्थानीय तह उपनिर्वाचन, २०८१ का लागि मङ्सिर २ मा उम्मेदवारको मनोनयन दर्ताको तालिका यसअघि नै आयोगले प्रकाशित गरेको छ ।
यही कात्तिक ७ मा आयोगले उम्मेद्वारको लागि खर्चको हद पनि निर्धारण गरिसकेको छ । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदहरूमा उपनिर्वाचन प्रयोजनका लागि उम्मेद्वारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेद्वारले खर्च गर्न पाउने रकमको हद तोकिएको हो ।
जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा सात लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पाँच लाख पचास हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा चार लाख पचास हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा तीन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।
महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा तीन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख पचास हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने आयोगले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१, ०९:१४