बिष्णु गौडेल, मध्यविन्दु एफएम, कावासोती/नवलपुर
नवलपरासी पूर्वको अरुणखोलामा पुल भाँचिदा पूर्व – पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
मध्यविन्दु नगरपालिका अन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेतिर ट्रक ठोक्किदा पुलमा क्षति पुगेको हो ।
पुलमा क्षति पुगेपछि अहिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किदा पुलको एक ठाउँ दुई मिटर तल लच्किएकाले पुलबाट ठुला सवारी साधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
ट्रक समेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भईरहेको उहाँले बताउनुभयो । ट्रक निकाले पनि पुलबाट ठूला सवारी साधन आवतजावतमा भने समस्या हुने उहाँले बताउनुभयो ।
अहिले यात्रुबहाक बस समेत रोकिएका छन् । प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारेर पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था मिलाइएको जनाएको छ ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल ममर्त हुन सक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरि वैकल्पिक बाटोको प्रयोग गरि सवारी सञ्चालनका लागि भनिएको बताउनुभयो ।
बिहानै देखी सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारी भने एकतर्फि रुपमा सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६, ०८:०८