अमेरिकाको ४७ औँ राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकी निर्वाचन आयोगले यसको आधिकारिक घोषणा गर्न बाँकी रहे पनि अमेरिकीसहितका विदेशी सञ्चारमाध्यमले ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको जनाएका छन् ।
यसअघि सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएर सन् २०२० को चुनावमा पराजित हुनुभएका ट्रम्प यस पटक निर्वाचित हुनुभएको हो । अघिल्लो निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनसँग पराजित हुनुभएका ट्रम्प यस पटक डेमोक्र्याट् उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकन पार्टीको जित पक्का भएको खबरमा उल्लेख छ । योसँगै राष्ट्रपतिमा ट्रम्पले जितेको इलेक्टोरल भोट २७९ पुगेको छ । राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट आवश्यक पर्दछ । यसअघि ह्यारिस र ट्रम्पविच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको भए पनि त्यस्तो प्रतिस्पर्धा भने नदेखिएको खबरहरूमा उल्लेख छ । यो नतिजासँगै अमेरिकाले राष्ट्रप्रमुखमा महिलालाई पाउन कम्तीमा ४ वर्ष कुर्नुपर्ने भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१, १७:०३